इजिप्टमा फुटबल समर्थकलाई मृत्युदण्ड

काइरो । इजिप्टमा सन् २०१२ मा भएको रंगशाला दंगाको पुनः सुनुवाइमा अदालतले ११ जना फुटबल प्रशंसकलाई मृत्युदण्डको निर्णय सुनाएको छ ।

नहरयुक्त नगर पोर्ट सइदमा भएको उक्त दंगामा ७४ व्यक्तिको मृत्यु भएको थियो । तल्लो अदालतले यस दंगामा संलग्न भएको भनी २१ व्यक्तिलाई मृत्युदण्डको निर्णय दिएको थियो र पुनरावेदन अदालतले यस विषयमा ७३ व्यक्तिमाथि पुनः सुनुवाइको आदेश दिएको थियो ।

सन् २०१२ मा उक्त नगरको समूह अल–मार्सी तथा काइरोको अल–अहलीबीच खेल भएको थियो र खेलपछि दंगा आरम्भ भएको थियो ।

आइतबार निर्णय ११ जना फुटबल समर्थकमाथि दिइएको हो र यसलाई इजिप्टको ग्रान्ड मुफ्तीमा पुनरावलोकनका लागि पठाइएको छ । यस अदालतले यी फुटबल समर्थक तथा उनीहरूका प्रतिवादी माथिको निर्णयमा अन्तिम निर्णय ३० मेमा दिनेछ ।

यसमा ७३ व्यक्तिलाई प्रतिवादी बनाइएको छ र त्यसमा नौ प्रहरी अधिकारी तथा अल–मार्सीका तीन अधिकारी पनि समावेश छन् । बाँकी अल–मार्सी क्लबका समर्थक रहेका छन् । अदालतले मृत्युदण्डको निर्णय सुनाइएका दुई व्यक्तिलाई हालसम्म पक्राउ गर्न सकिएको छैन ।

सुरक्षाका कारण काइरोमा राखिएको उक्त अदालतको सुनुवाइमा पीडित तथा प्रतिवादी कसैका पनि परिवार उपस्थित भएका थिएनन् । यस निर्णयमा पुनरावेदन गर्न सकिन्छ ।

पोर्ट सइद रंगशालामा भएको उक्त दंगापछि कायरोमा केही दिनसम्म हिंसा फैलिएको थियो र त्यसमा सुरक्षाकर्मीसँगको भिडन्तमा थप १६ व्यक्तिको मृत्यु भएको थियो ।

तल्लो अदालतले २१ व्यक्तिलाई मृत्युदण्डका निर्णय सुनाएपछि उक्त नगरमा पुनः दंगा फैलिएको थियो र त्यसमा करिब एक दर्जन व्यक्तिको मृत्युभएको थियो ।

प्रतिक्रिया