काठमाडौं, १६ चैत । अवैध सुन भित्राएको अभियोगमा पक्राउ परेका राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेण्डी शेर्पा धरौटीमा रिहा भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शेर्पा शनिबार राति पक्राउ परेका थिए । रिहा भएलगत्तै उनले आफूले अवैधानिक रूपमा सुन नल्याएको दाबी गरे ।
उपाध्यक्ष शेर्पाले आफूले हातमा लगाएको बाला १९ तोला भएको र बाँकी छ तोला सुन घरायसी प्रयोजनको लागि किनेर ल्याएको हुँदा त्यो अवैधानिक नभएको स्पष्ट पारे ।
हङकङमा बास्केटबलको सेमिनारका लागि आफू गएको बताउँदै शेर्पाले राजनीतिक क्षेत्रका साथै विभिन्न खेलकुद सङ्घमा आवद्ध भएको हुँदा पनि आफूले त्यस्तो काम कहिल्यै नगर्ने स्पष्ट पारे ।
वैदेशिक भ्रमणमा जाँदा आफूले प्रायःजसो हातमा सुनको बाला लगाउने गरेको बताउँदै प्रहरीले भेट्टाएको सुनको बालाको बिल आफूसँग सुरक्षित भएको उनको भनाइ छ ।
उपाध्यक्ष शेर्पा ध्रुबहादुर प्रधान नेतृत्वको नेपाल ओलम्पिक कमिटीका उपमहासचिव र नेपाल बास्केटबल सङ्घको अध्यक्षसमेत हुन् ।
शेर्पालाई एरपोर्ट प्रहरीले हङकङबाट फर्किने क्रममा जाँच गर्दा २५ तोला सुन भेटाएको भन्दै पक्राउ गरेको थियो ।
प्रतिक्रिया