काठमाडौं, ११ चैत । डलरको साइजमा कागजको नक्कली बण्डल दिएर पाँच लाख रुपियाँ ठगी गर्ने दुई जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ ।
गुल्मीको तम्घासमा होटल सञ्चालन गर्दै आएका चन्द्रमणि पाण्डेलाई नक्कली डलर दिएर नगद लिइ फरार भएका सिन्धुपाल्चोकका छिरिङ दोर्जे लामा र गुल्मीकै सुकमान गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई प्रहरीले बुढानिलकण्ठबाट ३९ हजार रुपियाँ र कागजको नक्कली नोटसहित पक्राउ गरेको थियो ।
लामा र गुरुङले पाण्डेलाई महाराजगञ्ज चक्रपथमा बोलाएर २१ हजार सात सय रुपियाँ नक्कली डलरको बण्डल दिएका थिए । त्यसवापत पाण्डेले पाँच लाख रुपियाँ दिएका हुन् ।
डलरको बण्डल पाएका पाण्डेले खोलेर हेर्दा कागज देखेपछि प्रहरीमा उजुरी दिएका थिए ।
तम्घासमा होटल व्यवसाय गर्दै आएका पाण्डेलाई गुरुङको प्रमुख योजनामा लामासँग मिलेर ठगीको योजना बनाएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।
पदयात्राका क्रममा सेते भन्ने भरियाले विदेशी पर्यटकको २१ हजार ७ सय डलर भेटेको कथा बनाउर लामा र गुरुङले पाण्डेलाई ठगी गरेको जनाइएको छ ।
भेटाएको भनिएको डलर नौ लाख रुपियाँमा बिक्रीको प्रस्ताव गरेपछि पाण्डेले किन्न तयार भएका थिए । प्रलोभनमा पारेका पाण्डे नगद पाँच लाख लिएर गए पनि कागजी नक्कली डलरको बण्डल लिएर फर्कन बाध्य भएका थिए ।
उजुरीपछि खोजतलासका क्रममा प्रहरीले लामा र गुरुङलाई बुढानिलकण्ठबाट पक्राउ गरेको जनाएको छ । उनीहरूको साथबाट प्रहरीले डलरको साइजको कागजका बन्डल र ३९ हजार रुपियाँ पनि बरामद गरेको छ ।
प्रतिक्रिया