आर्मीलाई पहिलोपटक राष्ट्रिय क्रिकेटको उपाधि

Mahesh Chhetriकाठमाडौं, ११ चैत । त्रिभुवन आर्मी क्लबले नेपाल एपिएफ क्लबलाई हराउँदै पहिलोपटक एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता जितेको छ ।

कीर्तिपुरस्थित विश्वविद्यालय मैदानमा मंगलबार भएको खेलमा आर्मीले चिरपरिचित प्रतिद्वन्द्वी एपिएफलाई पाँच विकेटको हार चखायो । एपिएफको लगातार फाइनलमा यो दोस्रो पराजय हो । गतवर्ष पनि एपिएफ क्षेत्र नं २ वीरगन्जसँग उपाधि भिडन्तमा पराजित भएको थियो ।

टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले कारणवश ४५ ओभरमा घटाइएको खेलमा नौ विकेटको क्षतिमा पूरै ओभर खेल्दै १६४ रन बनायो । जवाफी ब्याटिङमा आएको आर्मीले मात्र पाँच विकेटको नोक्सानीमा ४०.५ ओभर खेल्दै लक्ष्य पूरा ग-यो

‘प्लेयर अफ द म्याच’ घोषित भएका आर्मीका नरेश बुढाएरले अविजित ५३ रन बनाएर फाइनलमा एक मात्र अर्धशतक बनाउने खेलाडी भए भने जीतेन्द्र मुखियाले तीन विकेट लिएपछि एपिएफको इनिङ धर्मरायो ।

त्यस्तै, कप्तान विनोद भण्डारीले परिपक्व ब्याटिङको नमुना देखाउँदै ४८ रन बनाए, यसले आर्मीको जीतको आधार तयार पा-यो । राजेश पुलामीले अविजित ३५, अनिल मण्डलले १५, सुनाम गौतमले १० तथा राहुल विश्वकर्माले एक रन जोडेपछि आर्मीको जीत सुनिश्चित भयो ।

एपिएफलाई सिमित स्कोरमा समेट्न जीतेन्द्रका अलावा अविनाश कर्ण र सागर पुनले दुई/दुई तथा सोमपाल कामी र राहुलले एक/एक विकेट हात पारेका थिए ।

यसअघि, टोली अफ्ठयारो स्थितिमा रहेका बेला क्रिजमा आएका वसन्त रेग्मीले समालिँदै ब्याटिङ गरेर एपिएफलाई सम्मानजनक स्थानसम्म पु-याएका थिए । दुई विकेट पनि लिएका वसन्तले अविजित ३७ रन बनाए भने प्रदीप ऐरीले ३३ तथा ज्ञानेन्द्र मल्लले २४ रन जोडेका थिए ।

राष्ट्रियस्तरका स्टार खेलाडीले भरिएको एपिएफका अन्य ब्याट्सम्यान सस्तैमा पवेलियन फर्कदा राम्रो स्कोर बन्न सकेन र आर्मीलाई नतिजा सुम्पनुप-यो ।

फाइनल खेलका ‘म्यान अफ द म्याच’ले डोर्नियर सर्टिङ एन्ड सुटिङ सेन्टरका तर्फबाट तीन हजार बराबरको गिफ्ट ह्याम्पर र ट्रफी प्राप्त गरे ।

प्रतिक्रिया