पोखरा, ९ चैत । विषादी जडीबुटी निरमसी झार पुवामा पकाई खाँदा पोखरा उपमहानगरपालिका–२७ हेम्जाका एक दम्पतीको मृत्यु भएको छ ।
आइतबार राति ६२ वर्षीय बलबहादुर केसी र ५७ वर्षीया श्रीमती लक्ष्मी केसीले निरमसी जडीबुटी खाएपछि सख्त बिरामी परेका थिए ।
उनीहरूलाई उपचारका लागि नयाँबजारस्थित चरक मेमोरियल अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
केही दिनपहिले शरीर दुखेको भनेपछि बलबहादुरलाई आफना एक छिमेकी महिलाले उक्त जडीबुटी ल्याइदिएकी थिइन् । सो जडीबुटी खाने बित्तिकै दुवैजना बिरामी परेको बताइएको छ ।
मृतक दम्पतीका तीनवटै छोराछोरी अमेरिकामा बस्दै आएका छन् । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया