कर्मचारी प्रवेश रोक कार्यक्रमसहित धर्ना

रौतहट, १ चैत । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन रौतहटको आयोजनामा आज विभिन्न दल र नागरिक समाजका प्रतिनिधिहरुले मालपोत कार्यालय र नापी शाखामा कर्मचारी प्रवेशमा रोक लगाएका छन् ।

आज बिहान १० बजेदेखि विभिन्न दल, नागरिक समाज, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि र लेखापढी कानुन व्यवसायीहरुहरुले कार्यालयको मूलढोकामा धर्ना दिई कर्मचारी प्रवेश रोक लगाएका थिए ।

दशदेखि १२ बजेसम्म कर्मचारी प्रवेशमा रोक लगाएका कारण कार्यालयका कामकाज प्रभावित भएको सो कार्यालयले जनाएको छ ।

सदरमुकाम गौरमा रहेको मालपोत कार्यालय, नापी शाखाको चन्द्रपुर नगरपालिकामा शाखा स्थापनाको विरोधमा कर्मचारी प्रवेशमा रोक लगाइएको सद्भावना पार्टीका जिल्ला अध्यक्ष शेष जमसैदले बताए ।

नेपाल सरकारको निर्णयअनुरुप चन्द्रपुरमा शाखा स्थापना गर्न कार्यालयहरु सारिरहेको विरोधमा एसोसिएसनलगायत राजनीतिक दल, नागरिक समाज र उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरु आजदेखि आन्दोलनमा उत्रेका हुन् । एसोसिएसनका पदाधिकारीहरुले गत २७ गतेदेखि नै कलम बन्द गर्दै आएको छ ।

प्रतिक्रिया