फोहोरका कारण बातावरण दुर्गन्धित बन्दै

Dhangadiधनगढी, ३० फागुन । फोहोरको उचितरुपले व्यवस्थापन हुननसक्दा धनगढी नगर क्षेत्रका खोला र त्यस आसपासका बस्ती फोहोरले दुर्गन्धित हुन थालेका छन् ।

बजार क्षेत्रमा दैनिकरूपमा जम्मा हुने फोहोरको व्यवस्थापनका लागि ल्याण्डफिल साईटको व्यवस्था गर्ने नगरपालिका कार्यालयको अढाई दशक अघिदेखिको प्रयास अहिलेसम्म कार्यान्वयन हुननसक्दा यो समस्या सिर्जना भएको हो ।

नगरपालिका कार्यालयका ईन्जिनियर द्विजराज भट्ट नगर क्षेत्रको वडा–२ मोहना नदी नजिकको क्षेत्रमा ल्याण्डफिल साइड्को व्यवस्था गर्न लागिएको बताए ।

दैनिकरूपमा बजारमा जम्मा हुने फोहोर बजार क्षेत्रका खोला नाला छेउछाउको खाली जग्गामा लगेर थुपार्ने प्रबृत्तिका कारण बजारका खोलानाला वरिपरीको बस्ती फोहोरले दुर्गन्धित भएको मात्र नभई यी खोलाको प्राकृतिक स्वरुपसमेत कुरुप बन्दै जान थालेको छ ।

यसरी फ्याँकिने गरिएको फोहोरले वर्षायाममा खोलाहरूको प्राकृतिक मार्गसमेत अबरुद्ध हुनगई वर्षेनी नगर क्षेत्रमा डुवानको समस्या पनि बढ्दै गएको पाइएको छ ।

जथाभावीरूपमा फोहोर थुपार्ने गरिएको कारण नगर क्षेत्र हुँदै बग्ने कैलाली खोलाको राष्ट्र बैंक पश्चिमतर्फको भाग, वडा–२ को सन्तोषी टोल, सरस्वतीनगर टोल, वडा–८ को गाउँ धनगढी टोल लगायतका क्षेत्रका वस्ती खोलाको फोहोरको समस्याबाट बढी प्रभावित हुनेगरेका छन् ।

यस्तै नगर क्षेत्रकै सेतो पुल खोला र रातो पुल खोलाको छेउ र वडा–२ को दक्षिणी सीमा हुँदै बग्ने मोहना नदी छेउमा फोहोर फ्याँक्ने गरिँदा यी क्षेत्र आसपासको बातावरण दुर्गन्धित हुनथालेको नगरवासीको गुनासो छ ।

शवको दाहसंस्कार स्थलका रूपमा समेत रहेको मोहना नदी घाटमा दाह संस्कार गर्न जानेहरूमा जथाभावीरूपमा फोहोर फ्याक्ने प्रबृत्ति बढ्दै जाँदा नेपाल भारतको सीमा नदी मोहनासमेत दुर्गन्धित बन्न थालेको हो ।

पmोहोरको व्यवस्थापन गर्ने काम जनसरोकारको विषय भएको सन्दर्भमा लामो समयदेखि स्थानीय निकाय जनप्रतिनिधि बिहीन बनेकोले पनि फोहोरको उचितरूपमा व्यवस्थापन गर्न समस्या भइरहेको ईन्जिनियर भट्टले बताए ।

झण्डै एक लाख तीन हजार जनसङ्ख्या रहेको धनगढी नगरक्षेत्रमा दैनिक २०/२५टन फोहोर जम्मा हुनेगरेको छ ।

सरकारले ‘शुन्य फोहोरमा शहर‘ भन्ने नीति अख्तियार गरेकोले यो नीति बमोजिम गएको कात्तिक १६ गते राष्ट्रिय सरसफाई अभियानको पहिलो श्रृङ्खला अन्तरगत धनगढी नगर क्षेत्रबाट बृहत् राष्ट्रिय सरसफाई अभियान सुरु गरिएको थियो ।

तर सरसफाई अभियान केवल औपचारिकतामा मात्रै सीमित रही प्रभावकारी हुननसकेको स्थानीय हेमराज भट्टले बताए ।

 

प्रतिक्रिया