बागलुङमा विद्यार्थीका लागि छात्रवास बन्ने

बागलुङ, २७ फागुन । सुस्त श्रवण भएकाले अध्ययन गर्ने बागलुङका बहिरा विद्यालयलाई एक वैदेशिक संस्थाले सहयोग गर्ने भएको छ ।

उक्त विद्यालयलाई छात्रवास निर्माणका लागि माधुरी च्यारिटेवल फाउन्डेसन हङकङले एक करोड चार लाख सहयोग गर्ने सम्झौता भएको जानकारी विद्यालयका संस्थापक केवी रानाले बताउनुभयो ।

सम्झौताअनुसार फाउन्डेसनले प्रदान गर्ने सहयोग रकममा विद्यालयका तर्फबाट १६ लाख थप गरी एक करोड २० लाखको लागतमा दुई तले पक्की भवन निर्माण गरिने छ ।

‘अपाङ्गमैत्री सुविधा सम्पन्न भवन निर्माणका लागि फाउन्डेसनसँग सम्झौता भएको छ’ संस्थापक रानाले भन्नुभयो, ‘विद्यालयको शैक्षिक अवस्थालाई थप मजबुत बनाउन छात्रवासले ठूलो सहयोग पुग्ने छ ।’

फरक क्षमता भएका बालबालिकाको शैक्षिक सुधारमा सघाउ पुगोस् भनेर सहयोग गर्न लागेको फाउन्डेसनले जनाएको छ ।

बागलुङ नगरपालिकाको वडा नम्बर १ रामरेखामा रहेको उक्त विद्यालयमा देशमा विभिन्न ठाउँका १३३ जना अध्ययनरत छन् ।

आवासीय सुविधासहित साङ्केतिक भाषामा माध्यमिक तहसम्मको कक्षा सञ्चालन हुने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केपी अधिकारले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार विद्यालयले सुस्त श्रवण भएका बालबालिकाका लागि नियमित कक्षा र अन्य व्यक्तिका लागिसमेत साङ्केतिका भाषा प्रशिक्षण दिने गरेको छ ।

साङ्केतिक भाषा शिक्षणमा देशकै नमुनाको रुपमा अगाडि बढेको सो विद्यालयमा चालु शैक्षिक शत्रदेखि कम्प्युटर शिक्षासमेत दिन थालिएको विद्यालयले जनाएको छ ।

विद्यालयमा बागलुङ, पर्वत, म्याग्दी, स्याङ्जा, कास्कीलगायतका देशका २४ जिल्लाका विद्यार्थी रहेको अध्यक्ष अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया