पत्रकार महिलाहरूका लागि सुरक्षा तालिम

धनगढी, १ जेठ । सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्माले पत्रकार महिलाहरुलाई जतिसुकै बेला जहाँसुकै गएर पनि समाचार संकलन गर्न सक्ने वातावरण सृजना गर्न सरकारसँग माग गरेकी छन् ।
यूनेस्कोको सहयोगमा सञ्चारिका समूहले बिहीबारदेखि धनगढीमा आयोजना गरेको तिन दिने ‘पत्रकार महिलाहरुको पेशागत सुरक्षा तालिम’को अवसरमा शर्माले यस्तो धारणा बताएकी हुन् ।
पत्रकार भएकै कारण भोग्नुपर्ने समस्या थुप्रै भएपनि महिला भएकै कारण पत्रकार महिलाहरुलाई पेशागत र भौतिक असुरक्षा रहेको भन्दै शर्माले उनीहरुको पेशागत र भौतिक सुरक्षाको ज्ञारेन्टी गर्न माग गरिन् । ‘एउटा पत्रकार पुरुषलाई रातीको समयमा अर्थात एकान्तमा घडी, मोबाईल, पैसा लुटिने र कुटिन सक्ने डर होला,’ शर्माले भनिन्, ‘तर पत्रकार महिलाहरुलाई भने यौन दुव्र्यवहार पनि हुन सक्ने खतरा हुन्छ ।’ उनले यी सबै जोखिम न्यूनिकरण गर्ने जिम्मेवारी राज्यको भएका कारण पत्रकार महिलाहरुलाई महिला भएकै कारण पेशाबाट पलायन हुने वातावरणको अन्त्य गर्न आग्रह गरिन् ।
नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष शिव गाउँलेले पत्रकार आफ्नो र अर्काका कारण जोखिममा पर्ने गरेको बताए ।
‘जसरी एउटा गैँडा आफुसँग रहेको बहुमूल्य खागका कारण तस्करको शिकार हुन्छ, त्यसरी नै पत्रकारसँग कमल हुने भएका कारण जोखिममा पर्छन्,’ गाउँलेले भने, ‘पत्रकार महिलाहरु सामाजिक, साँस्कृतिक संरचनाका कारण थप जोखिममा परिरहेका छन् ।’
तालिमको उद्घाटन सत्रमा बोल्दै कैलालीका प्रमूख जिल्ला अधिकारी वेद प्रकाश लेखकले सबै नागरिकको भौतिक सुरक्षाको जिम्मा राज्यको हो भन्दै पत्रकारिता जस्तो महत्वपूर्ण पेशामा आवद्ध मानिसहरुको सुरक्षाका लागि स्थानीय प्रशासन संवेदनशील रहेको बताए ।
सुरक्षा निकायसँगको नियमित सम्पर्कले पनि पत्रकारहरुको भौतिक सुरक्षा मजबुद हुनसक्ने भन्दै प्रमूख जिल्ला अधिकारी लेखकले कैलाली जिल्लाका पत्रकार महिलाहरुले पेशागत मर्यादामा बसेर काम गरिरहेको भन्दै प्रशंसा गरे ।
लेखकले समाचार लेखेकै कारण पत्रकार महिलाहरुले कुनै पनि व्यक्ति अथवा समूहबाट मानसिक र भौतिक रुपमा डर, धम्की र आक्रमण भए कार्वाही गर्न आफु पछि नहट्ने भन्दै डटेर काम गर्नका लागी पत्रकार महिलाहरुलाई आग्रह गरे ।
पत्रकार कल्पना भण्डारीले व्यवसायिक रुपमा दक्ष हुन सकेको खण्डमा पनि अरुबाट हुन सक्ने जोखिम बढी हुने भन्दै पत्रकार महिलाहरुलाई आफ्नो क्षमता अभिवृद्धी गरेर काम गर्न आग्रह गरिन् । कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य दिल बहादुर छत्याल, पत्रकार महासंघ कैलालीका अध्यक्ष भरत शाह र मेचीकाली मिडीया सोसाईटीका केन्द्रीय उपाध्यक्ष हेमन्त पौडेलले महिलालाई दोस्रो दर्जाको नागरिक सम्झिने विभेदकारी संरचनाका कारण पत्रकारितामा टिकिरहन समस्या भईरहेको बताए । तिन दिनसम्म चल्ने तालिममा अछाम, डडेल्धुरा, कञ्चनपुर र कैलालीका गरी २२ जना पत्रकार महिलाहरु सहभागि छन् । तालिममा प्रमूख प्रशिक्षक शिव गाउँले, पत्रकार निर्मला शर्मा, कल्पना भण्डारीले सहजिकरण गरिरहेका छन् ।

प्रतिक्रिया