घुस लिँदालिदै रंगे हात पक्राउ

काठमाडौ, १ जेठ । घूस लिंदालिंदै जिल्ला प्राविधिक कार्यालय काठमाडौंका इन्जिनियर शालिकराम देवकोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी टोलीले पक्राउ गरेको छ । जिल्ला विकास समिति काठमाडौं अन्तर्गत जिल्ला प्राविधिक कार्यालय काठमाडौंका इन्जिनियर शालिकराम देवकोटा र नायव सुब्बा रकु खत्रीलाई १ लाख रपैयाँ घुस लिंदा लिंदै सो टोलीले पक्राउ गरेको हो ।
ब्रदर्श निर्माण सेवालाई घ श्रेणीको निर्माण अनुमति पत्र प्रदान गरे वापत इन्जिनियर देवकोटा लगायतले घुस मागेको भन्ने बिशेष सूचनाको आधारमा अख्तियारको टोलीले उनको कार्यकक्षमा छापा मारी घुस वापत लेनदेन भएको नगद रकम बरामद गरेको हो । अख्तियारले कम्पनी दर्ता प्रक्रियामा घुस लिए वापत घरेलु तथा साना उद्योग त्रिपुरेश्वरका कार्यकारी प्रमुखको हैसियतमा कार्यरत शाखा अधिकृत वाशुदेव सिंखडा र नायव सुब्बा सरस्वती श्रेष्ठ समेत लाई पनि पक्राउ गरेको जनाएको छ ।
यसैबीच अख्तियारले कैदी स्थानान्तरणको आश्वासनमा घूस लिने केन्दीय कारागार कार्यालय जगन्नाथदेवलका नायव सुब्बा महेन्द्र प्रकाश अधिकारीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरिएको छ । अधिकारीले भिमफेदी कारागारमा अपहरण तथा शरीरबन्दक अपराधमा कैदी जिवन बिताइरहेका कैदी शम्सेर घिसिङलाई केन्द्रीय कारागारमा स्थानान्तरण गराइदिने भनी प्रतिक बजगाईंबाट १० हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले हदैसम्म सजायको मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया