सेनाका जीवनले आफैलाई गोली दागे

काठमाडौं, ३१ बैशाख । नेपाली सेनाका जवान जीवन कार्कीले गोली हानेर आत्महत्याको प्रयास गरेका छन् । सेनाको इञ्जिनियर निर्देशनालय मातहतको कालिप्रसाद गणमा कार्यरत सिपाही कार्कीले सोमबार डियुटीमा रहेको बेला आफैले बोकेको एसएलआर हतियार प्रयोग गरी आत्महत्याको प्रयास गरेका हुन् । गोली कार्कीको च्युउडोबाट पसेर निधारबाट निस्किएको छ । एसएलआरको गोलीबाट गम्भीर घाइते भएका सैनिक जवान कार्कीको केएमसी अस्पताल सिनामंगलमा भेण्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।
सैनिक प्रवक्ता सहायकरथी जगदिशचन्द्र पोखरेलले सैनिक जवान कार्कीले आत्महत्याको प्रयास गरेको जानकारी दिए । ‘आफैले आफैलाई गोलि दाग्ने सैनिक जवानको भेण्टिलेटरमा राखेर उपचार भइरहेको छ, सैनिक प्रहरीले यसको अनुसन्धान गरेपछि थप विवरण आउँछ, अनुसन्धान नभई अहिले केही भन्न सकिन्न ।’ प्रवक्ता पोखरेलले सौर्यसँग भने ।
दाजुको बिहेमा सहभागी भएर तिन दिनअघि मात्र कार्की त्रिभुवन विमानस्थल नजिकै रहेको ब्यारेकमा हाजिर भएका थिए । उनका परिवारका अन्य तीन सदस्य पनि नेपाली सेनामै कार्यरत छन् । कार्कीका काका पनि कालिप्रसाद गणमै कार्यरत छन् । कार्की एसएलसीको परीक्षा दिन यसअघि पनि एक महिना बिदा बसेका थिए । प्रारम्भिक अनुसन्धानबाट प्रेममा असफल भएपछि कार्कीले आत्महत्या गरेको हुन सक्ने अनुमान सेनाले गरेको छ ।

प्रतिक्रिया