काठमाडौं, ३० बैशाख । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान जारी नभएसम्म विदेश भ्रमणमा नजान सभासद्हरूलाई रुलिङ गरेका छन् । मंगलबार बसेको संविधानसभाको बैठकमा अध्यक्ष नेम्वाङले संविधान निर्माण महत्वपूर्ण चरणमा प्रवेश गरेकोले कुनै पनि दलका सभासद्लाई विदेश भ्रमणमा नजान रुलिङ गरेका हुन् । उनले सभासद्लाई जिल्लामासमेत नपठाउन सम्बन्धित दलका नेताहरूलाई आग्रह गरेका छन् ।
कार्यतालिका अनुसार आगामी २०७१ सालको असार मसान्तभित्र संविधानको मस्यौदा तयार गरी जनतामा सुझावका लागि लैजानुपर्ने दायित्वलाई स्मरण गराउँदै अध्यक्ष नेम्वाङले राजनीतिक दलले एक वर्षभित्र संविधान जारी गर्नेसम्बन्धी संकल्प र संविधानसभाले बनाएको कार्यकतालिकालाई कार्यान्वयन गराउन सभासदहरूलाई संविधानसभा र विभिन्न समितिका काममा क्रियाशील रहन आग्रह गरे ।
सभामुख नेम्वाङले सभासद्लाई जिल्लामा नबोलाइदिन र संविधान लेखनका कार्यमा बल तथा प्रेरणा दिलाउन पनि जिल्लावासी र शुभेच्छुकलाई आग्रह गरे । एमाले अध्यक्ष झलनाथ खनाल केही दिनदेखि चीनको भ्रमणमा छन् । एमाओवादी नेता डा. बाबुराम भट्टराई चीन भ्रमणबाट मंगलबार मात्र स्वदेश फर्किएका छन् ।
भट्टराई चीन जाँदा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकसमेत बस्न सकेको थिएन् । केही दिन अगाडि मात्रै सभासद्को विदेश भ्रमण बन्द गराउनका लागि सभामुख नेम्वाङले विभिन्न देशका राजूदतलाई बोलाएर छलफल गरेका थिए ।
संविधान निर्माण प्रक्रियामा प्रवेश
संविधानसभाको १५ औ बैठकमा पहिलो पटक संविधान निर्माण प्रक्रियाले प्रवेश पाएको छ । संविधानसभाअन्र्तगत अभिलेख अध्ययन तथा निक्र्यौल समितिले आफ्नो आंशिक प्रतिवेदन समितिका सभापति विष्ण्ुा पौडेलले संविधानसभामा पेश गरेपछि संविधान निर्माण प्रक्रियाले प्रवेश पाएको हो ।
पौडलले तत्कालीन प्राकृतिक स्रोत, आर्थिक अधिकार र राजश्व बाँडफाँड समितिको प्रतिवेदन र राष्ट्रिय हित र संरक्षण समितिको प्रतिवेदनको संविधानको प्रारम्भिक मस्यौदामा भएका सहमतिको निक्र्यौल सम्बन्धी प्रतिवेदन २०७१ संविधानसभामा पेश गरेका छन् ।
यसैगरी तत्कालीन राष्ट्रिय हित संरक्षण समितिको प्रतिवेदनमा भएको असहमतिको निक्र्यौलसम्बन्धी प्रतिवेदन २०७१ पनि संविधानसभामा पेश गरेका छन् । संविधानसभामा पेश भएका प्रतिवेदनमाथि बिहीबार बस्ने बैठकमा दफाबार छलफल हुने बताइएको छ ।
साह निलम्बित
मंगलबारको बैठकमा सद्भावना पार्टीका सभासद् सञ्जयकुमार साहलाई धनुषा जिल्ला अदालतको गत २५ बैशाखको आदेशअनुसार कर्तव्य ज्यानसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएकाले पदबाट निलम्बन गरिएको जानकारी अध्यक्ष नेम्वाङले गराए ।
साहलाई थुनामा राख्नेसम्बन्धी आदेशबारे महान्यायाधिवक्ताको कार्यालयबाट २८ बैशाखमा संविधानसभामा पत्र प्राप्त भएकाले संविधानसभा नियमावली, २०७० को नियम १६३ (४) बमोजिम थुनामा रहेको अवधिभर उनलाई निलम्बन गरिएको हो ।
प्रतिक्रिया