महिलाले ताने मछिन्द्रनाथको रथ

ललितपुर, २९ बैशाख । वर्षा र सहकालको देवताका रुपमा मानिने मच्छिन्द्रनाथको जात्राअन्तर्गत सोमबार बिहान महिलाहरुको मात्रै सहभागितामा रथ तानियो । विधिवत् रुपमा गत २० बैशाखबाट  सुरु भएको सो जात्राअन्तर्गत पहिलो दिन रथ रहेको स्थान पुल्चोकबाट गाबहाल लगिएको थियो ।
नवौँ दिन परम्पराअनुसार बिहान ६ बजे महिला मात्रैले रथ तानेर थटीटोल चौबाटो पुर्‍याएका थिए । ३२ हात अग्लो रथको टुप्पाबाट आइतबार साँझ नरिवल खसालिसकेको एक दिनपछि सोमबार परम्पराअनुसार महिलाले मात्रै रथ तानेर थटीटोल पुर्‍याएका हुन् । अन्य स्थानभन्दा सो स्थानमा लामो समय करिब दस दिनसम्म रथ रहने बताइएको छ ।
सो स्थानबाट रथ जावलाखेल लानका लागि ज्योतिषीले साइत हेर्ने छन् । साइत हेर्नका लागि आगामी ८ जेठको समय उपयुक्त रहेको बताइएको छ । सो दिन साइत हेरेपछि रथ जावलाखेल लगिने र जावलाखेल लगेको चार दिनपछि भोटो देखाउने बताइएको छ ।

प्रतिक्रिया