प्रहरीहरूका लागि बाल संरक्षण तालिम

डोटी, १४ वैशाख । बाल बालिकाहरुका सवाल पहिचान गरी बाल संरक्षणमा सहयोग गर्न सक्रिय बनाउन प्रहरी कर्मचारीहरुका दुई दिने तालिम आईतबार सुरु भएको छ ।
बालबालिकाहरुमाथी हुने दुव्र्यवहार अन्त्य गरी बाल अधिकार संरक्षणका लागि प्रहरी कर्मचारीहरुलाई थप सक्रिय बनाउने उद्देश्यका साथ उक्त तालिम आयोजना गरिएको आयोजक संस्था समान पहुँच विकास केन्द्र (सिड) नेपालका अध्यक्ष शेरबहादुर मल्लले जानकारी दिए । वल्र्ड भिजन नेपालको साझेदारीमा उक्त संस्थाले सञ्चालन गरिरहेको बाल संरक्षण परियोजना अन्तरगत तालिमको आयोजना गरिएको अध्यक्ष मल्लको भनाई छ । ‘हामीले यसअघि सञ्चारकर्मीहरुका लागि पनि बाल संरक्षण सम्वन्धि तीन दिने तालिम सञ्चालन गरेका थियौं’ मल्लले भने ‘अव हामी गाविस सचिवहरु, स्वास्थ्यकर्मीहरु, बिद्यालय व्यवस्थापन समिति र शिक्षकहरुका लागि पनि बाल संरक्षण सम्वन्धि तालिम सञ्चालन गर्ने तयारीमा रहेका छौं ।
तालिमको उद्घाटन गर्दै डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भोजजंग शाहले तालिमले प्रहरी कर्मचारीहरुमा थप सक्रियता बढाउने बिश्वास व्यक्त गरे । ‘सधैं भरी ड्युटीमा खटिरहने प्रहरी कर्मचारीहरुलाई पनि समयानुकुल यस्ता सामाजिक क्षेत्रको ज्ञान दिने तालिमको खाँचो छ’ प्रहरी उपरीक्षक शाहले भने ‘यो तालिमवाट सहभागि प्रहरी कर्मचारीहरुमा समुदायमा समन्वय गर्ने क्षमता बढ्ने छ ।’ जिल्ला प्रहरी कार्यालय डोटीसँंग सहकार्य गरी तालिम आयोजना गरेकोमा आयोजक संस्थालाई धन्यवाद दिँदै प्रउ शाहले आगामी दिनहरुमा पनि जिल्ला प्रहरी कार्यालय सबैसँंग सहकार्य गरेर अगाडी बढ्ने बताए ।
उक्त तालिममा जिल्ला भित्र रहेका बिभिन्न प्रहरी चौकीमा कार्यरत चौकी ईन्चार्जहरु एक प्रहरी निरीक्षक, चार प्रहरी नायव निरीक्षक र आठ प्रहरी सहायक निरीक्षक सहित २१ जनाको सहभागिता रहेको जिप्रका डोटीका प्रहरी निरीक्षक उद्धवदेव भट्टले जानकारी दिए ।
तालिममा थप एक दिन मानसिक स्वास्थ्यको सम्वन्धमा छलफल गरिने आयोजक संस्थाका अध्यक्ष मल्लले बताए । संस्थाले युनाईटेड मिसन टु नेपालको साझेदारीमा सञ्चालन गरिरहेको मानसिक स्वास्थ्य परियोजना अन्तरगत एक दिन मानसिक स्वास्थ्यको बारेमा समेत जानकारी गराउने अध्यक्ष मल्लको भनाई छ ।

प्रतिक्रिया