खोटाङ : खानेपानीको मुहान सुक्दै गएपछि खोटाङ विजयखर्कका स्थानीयबासी अस्थायीरुपमा पानीको मुहान खोज्दै बसाई सर्न थालेका छन् । वडा नम्बर–५, ६ र ९ बाहेक अन्य वडाका स्थानीयबासी मुहान खोज्दै अस्थायी रुपमा बसाई सर्न थालेका हुन् ।
विगत वर्षहरुमा कहिलै नसुक्ने पानीको मुहान यस वर्ष सुकेसँगै आफूहरु ककाकुल अवस्थामा पुगेपछि पानीको मुहान नजिक अस्थायी रुपमा बसाँई सर्न बाध्य भएको वडा नम्बर–२ की अभिमायाँ कटवालले बताईन् । उनले भनिन्, ‘बैकल्पिक रुपमा ल्याइएको पानी समेत पालो कुरेर भर्नुपर्ने र त्यो पनि नपाइने भएकाले आफूहरु अस्थायी रुपमा पानीको मुहान भए ठाउँमा बसाई सरेका हौं, आफूहरु गएको ठाउँमा समेत मुहान सुक्न थालेपछि झनै समस्यामा परेको छ ।’
गत कात्तिक–मंसिरदेखि नै नजिकमा रहेका धारापाधेँराका मुहान सुकेपछि विजयखर्क–७ का मात्रै ४० घर परिवार अस्थायीरुपमा दिखुवा खोला नजिक बसाई सरेका छन् । उनीहरुको स्थायी बसोबास वडा नम्बर–७ मा भएपनि बेसी क्षेत्रमा पनि खेतबारी भएकाले उतै बसाँई सरेका हुन् । स्थानीय राजन ढकालका अनुसार माथिल्लो क्षेत्रमा बसोबास गर्ने घरपरिवारको बेसी क्षेत्रमा पनि खेतबारी भएकाले उतै अस्थायी रुपमा बसाई सरेका हुन् । ढकाल भन्छन्, ‘हाम्रो त बेसी क्षेत्रमा खेतबारी भएकाले अस्थायी रुपमा भएपनि पानी भएको ठाउँमा झरेर बसेका छौं, गाउँका अन्य धेरैको बिचल्ली नै भएको छ ।’
स्थानीय शिक्षक गोबिन्द कटवालका अनुसार पानीको मुहान धमाधम सुकेपछि बैकल्पिक रुपमा ल्याइएको पानी पालो कुरेर भर्ने गरेका छन् । कटवाल भन्छन्, ‘बेलुका ११ बजेसम्म र बिहान तीन बजेदेखि पालो मिलाइएको छ, तर पानी नपुगेपछि केटाकेटीहरु त्यसै फर्कने गरेका छन् ।’ कटवालका अनुसार वडा नम्बर–२ का लागि बैकल्पिक रुपमा लगिएको पानी भर्न बेलुका ११ र बिहान १६ घरले तीन–तीन गाग्रीका दरले पानी भर्ने पालो बनाइएको छ । कतिपय समयमा पानी नपुगेपछि सुख्खा खाना खाएको स्थानीय फडिन्द्र खनालले जानकारी दिए । खनाल भन्छन , ‘हामी त जे खाएपनि पचाउँछौं, केटाकेटी, बुढाबुढी र वस्तुभाउको कन्त बिजोग भएको छ ।’ स्थानीयका अनुसार वडा नम्बर–७ का ४०, ३ का १५, २ का ६, ४ का १० घरपरिवार अस्थायीरुपमा बसाँई सरेका छन् । शिक्षक गोबिन्द भन्छन्, ‘यत्तिका परिवार समस्यामा पर्दा समेत कसैको ध्यान जान नसकेको प्रति दुखिद् भएका छौं, यसप्रति राज्यको विशेष ध्यान जान आवश्यक छ ।’
प्रतिक्रिया