डढेलोले खोटाङमा लाखौको क्षति

खोटाङ, १० बैशाख । जंगलबाट सल्किएको डढेलोले पश्चिमी गाविस डिकुवामा ३ वटा घर जलेको छ । डिकुवा–६ बाट सल्किएको डढेलोले डिकुवा–८ का भैरबहादुर मगर, मेघबहादुर मगर र दलबहादुर परियारको घर नष्ट भएको स्थानीय सर्वधन मगरले जानकारी दिएका छन् । डढेलोबाट लागेको आगलागीमा भैरबहादुरको ५ आना सुन, १९ हजार नगद, ७ वटा बाख्रा र ३ वटा खसी नष्ट भएको छ । त्यस्तै मेघबहादुरको ७ वटा खसीबाख्रा, अन्न, माल सामान नष्ट भएका छन् । त्यस्तै दलबहादुरको घरमा भएका सबै सामान नष्ट भएको प्रहरीचौकी च्यास्मीटारले जनाएको छ । प्रहरीका अनुसार भैरबहादुरको साँढे ५ लाख, मेघबहादुरको साँढे ४ लाख र परियारको ४ लाख बराबरको क्षती भएको प्रारम्भिक अनुमान गरिएको छ ।
यस्तै, सामुदायीक बनमा लागेको डढेलोले पेल्ट्रीसेटको तार जल्दा माक्पा–७ र ८ मा विद्युत अवरुद्ध भएको छ । स्थानीय भीरगाउँ सामुदायीक बनमा लागेको डढेलोले बञ्चरे खोलाबाट निकालिएको पेल्ट्रीसेटको लेवादेखि रुमालासम्मको तार जल्दा गाउँमा बिद्युत अवरुद्ध भएको स्थानीय प्रिथ निरौलाले जानकारी दिए । डढेलोले रोयल्टीमा काटिएको चिरानी काठ तथा काट्नका लागि ढालिएको रुख र काठ समेत नष्ट बनाएको छ । डढेलोले माक्पा–७ र ८ मा ल्याइएको हङखोला मुहान भएको खानेपानीको पाइप पनि डढेको निरौलाको भनाई छ । उता, दक्षिणी गाविस सिमपानी–३ को बर्रेमा सोमबारदेखि लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । गाउँतर्फ आउँदै गरेको डढेलो नियन्त्रणमा लिइए पनि सामुदायिक वनको बीच भागमा लागेको डढेलो नियन्त्रण बाहिर गएको स्थानीय शिखर खतिवडाले जनाएका छन् ।
यस्तै, बासपानीको एक सामुदायीक बनमा पनि डढेलो लागीरहेको छ । खोटाङको विभिन्न स्थानमा गएको डढेलोले वन क्षेत्रको विनास हुँदा त्यस क्षेत्रमा भएका जंगली जनवार तथा पक्षिहरु समेत लोप हुने खतारा बढेको छ ।

प्रतिक्रिया