थप अनियमिता खुल्दै

काठमाडौं, ७ बैशाख । नेपालस्थित भारतीय दूतावासको अुनदान तथा सहयोगमा सञ्चालन हुँदै आएको नेपाल चर्खा प्रचारक गान्धी–तुलसी स्मारक महागुठीमा केही व्यक्तिको मिलेमलोमा लाखौंको अनियमितता भएको रहस्य खुल्न आएको छ । व्यक्तिगत स्वार्थका लागि महागुठीका विभिन्न परियोजनालाई डुबाएको तथा महागुठीकै कर्मचारीद्वारा अन्य कम्पनी खोलेर चल–अचल सम्पत्ति हिनामिना गरेको पनि खुल्न आएको छ ।
करिब १५ वर्ष अगाडि काठमाडौंको सतुंगलमा स्थापना भएको ढाका विइभ झन्डै १० वर्षदेखि बन्द अवस्थामा छ । अहिले विधानविपरीत महागुठीको गुठियार बनाइएकी रिता थापा अध्यक्ष रहँदा मजदुर आन्दोलनका कारण ढाका विइभ बन्द भएको थियो । उक्त ढाका विइभ परियोजनालाई महासचिव महालक्ष्मी श्रेष्ठलगायत अन्य सदस्यहरुको असहमितका बाबजुद थापा नै अध्यक्ष रहेको महागुठी क्राफ्ट विथ कन्साइन्स कम्पनीलाई एक करोड २७ लाख रुपियाँमा बिक्री गरिएको छ । विभिन्न दातृ नियकाबाट प्राप्त सहयोगमा एक रोपनी क्षेत्रफलको जग्गा र त्य सभित्र रहेको भवनसमेत उक्त कम्पनीलाई बिक्री गरिएको हो ।
२०६९ साल कात्तिकमा भने सोही कम्पनीले महागुठीको चलअचल सम्पत्तिलाई आफ्नो प्रभावमा पार्ने गरी तयारी गरेको प्रमाणसमेत सौर्यलाई प्राप्त भएको छ । प्राप्त प्रमाणअनुसार सो कम्पनीले ६ बुँदे सम्झौता अघि सारेको थियो । तर, महागुठीका महासचिव महालक्ष्मी श्रेष्ठलगायत अन्य कर्मचारीको असहमतिका कारण त्यसबेला सम्झौता हुन सकेन ।
उक्त सम्झौतामा महागुठीबाट सञ्चालित आय आर्जनसम्बन्धी पूर्वपरियोजनाका कार्यहरु दोस्रो पक्षबाट सञ्चालन गर्न दिइने, केन्द्रको नाममा रहेको स्थिर तथा चल सम्पत्ति तथा सोबाट सृजित दायित्व (कोषसँग सम्बन्धित) उक्त कम्पनीलाई हस्तान्तरण गर्ने भन्ने सम्झौता थियो ।
यस्तै, सो कम्पनीले महागुठीको सम्पत्ति तथा दायित्वहरु भोगचलन गर्ने गराउने तथा आवश्यक परेको खण्डमा बेच–बिखन तथा लगानी गर्न सक्ने भनेर निर्णय गर्नुले पनि उनीहरुले व्यक्तिगत स्वार्थपूर्ति गर्न खोजिएको प्रष्ट देखिन्छ ।
महागुठीको विधानको दफा ५ (झ) मा नगदी जिन्सी लिन–दिन परे साधारणसभाले पास गर्नुपर्ने प्रावधान भए पनि उनीहरुले त्यसलाई उल्लंघन गरेको पाइयो । केही व्यक्तिको मिलेमतोमा गैरकानुनी सम्झौता गरी महागुठीको सम्पत्ति हिनामिना गर्ने तयारी गरेको स्रोतको दाबी छ ।
उक्त सम्झौता रोक्न विशेष पहल गर्ने महासचिव श्रेष्ठलाई भने गुठियार बन्नबाट पनि रोक लगाइयो । सम्झौता गर्न विशेष पहल गर्ने उदयमोहन श्रेष्ठलाई भने गैरकानुनी ढंगबाट अध्यक्ष बनाइएको छ । यता, उनै रिता थापासमेत गैरकानुनी ढंगबाटै गुठियार बनेकी छिन् ।
यता, महागुठीकै कर्मचारीले ०६३ सालमा महागुठी नेपाल नामक कम्पनी खोलेरसमेत संस्थाको चलअचल सम्पत्ति अपचलन गरेको खुल्न आएको छ । कर्मचारीले नै परियोजनालाई कम्पनी बनाएर चलअचल सम्पत्ति हिनामिना गरेको स्रोतको दाबी छ ।
मुनाफारहित भनेर खोलिएको महागुठी नेपाल प्रा.लि.को लेखापरीक्षणको आयकर हिसाब विवरणमा भने नाफा देखाइएको छ । जहाँ प्रा.लि.ले नेपाल चर्खा प्रचारक गान्धी तुल्सी स्मारक गहागुठीबाट उत्पादित हस्तकलाका विभिन्न समान, तयारी पोशाक नेपाली कागजबाट बनाइएका वस्तुहरु खरिद गरी सम्पूर्ण निर्यात गर्ने गरेको देखियो भन्ने गरेको छ । गैरसरकारी संस्था र गैरनाफामुखी कम्पनीको मिलेमतोमा राज्यलाई नै कर छलि गरेकोसमेत खुल्न आएको छ । महासचिव श्रेष्ठले ती सवै विषयमा जिल्ला प्रशाशन कार्यालय काठमाडौंमा उजुरीसमेत गरेकी छिन् । उनले महागुठीमा आर्थिक अनियमितता भएको, विधानविपरीत काम भएको तथा गुठीको चलअचल सम्पत्ति हिनामिना भइरहेको भन्दै नेपाल सरकार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालस्थित भारतीय दूतावासलगायतसँग आग्रहसमेत गरेकी छन् । ‘गान्धी र तुल्सी नाम जोडेर महागुठी स्थापना भएको हो’, उनले सौर्यसँग भनिन्, ‘अहिले भने महागुठीको अस्तित्व नै खतरामा पर्न लाग्यो, यस्तो बेला सम्बन्धित निकायलाई पहल र छानबिन गरिदिन आग्रह गर्दछु ।’
विधानविपरीत अध्यक्ष नियुक्त भएका भनिएका उदय मोहन श्रेष्ठले करिब ६ वर्ष अगाडि अर्गानिक फर्ममार्फत बकुल्ला खेतीका लागि भन्दै लिएको ६ रोपनी जग्गाको झन्डै एक लाख रुपियाँ नतिरेर अनियमितता गरेको समेत स्रोतको दाबी छ । गुठीको विधानविपरीत गुठियारमा नियुक्त भएकी रिता थापाले पनि महागुठी क्राफ्ट बिथ कन्साइन्सको खाताको ८० लाख रुपियाँ अपचलन गरेको आरोप छ ।

प्रतिक्रिया