उच्चस्तरीय राजनीतिक समिति नबन्ने

काठमाडौ, ३० चैत । तीन प्रमुख दलका शीर्ष नेताहरूबीच संविधानसभा व्यवस्थापिका–संसद्भित्र रहेका समितिभित्रैबाट समस्याको समाधान खोजेर संविधान निर्माणको कामलाई तीव्र दिनेबारेमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान भएको नेपाली कांग्रेस, नेकपा एमाले र एनेकपा माओवादीका शीर्ष नेताको छलफलमा संविधानसभा अन्तर्गतका समितिहरूको सभापतिको चयन ५ बैशाखभित्र गर्न संविधानसभाका अध्यक्षलाई अनुरोध गर्ने पनि निर्णय भएको छ । सभापति चयन सहमतिका आधारमा गर्न आज फेरि तीन दलको बैठक बस्नेछ ।
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संवैधानिक तथा राजनीतिक संवाद समितिले नै उच्चस्तरीय राजनीतिक समितिको समेत काम गर्नसक्ने र राजनीतिक संवाद समितिको क्षेत्राधिकारभित्र ती सबै काम आउने भएकाले त्यहीभित्रबाट समाधान खोज्ने बारेमा छलफल भएको जानकारी दिए । उनले भने, ‘संविधानसभा र व्यवस्थापिका संसद्को नियमावलीले कल्पना गरेको समितिभित्रैबाट सबैले सहमति गरेर शान्ति प्रक्रियालाई पनि सहज बनाउँदै संविधान निर्माणको प्रक्रियालाई तीव्रता साथ अघि बढाउने कुरा भएको छ, अहिलेलाई उच्चस्तरीय राजनीतिक समिति नबनाउने कुरा भयो ।’

प्रतिक्रिया