०७१ मा जनमूखी संविधान : प्रम

काठमाडौं, ३० चैत । प्रधानमन्त्री सुशील कोइरालाले ०७१ सालभित्रै नेपाली जनताले अपेक्षा गरेको नयाँ संविधान जारी हुने प्रतिबद्धता व्यक्त गरेका छन् । नववर्ष २०७१ को अवसरमा प्रधानमन्त्री कोइरालाले जारी गरेको शुभकामना सन्देशमा नेपाली जनताले ७ दशकभन्दा लामो संघर्षले प्राप्त गरेको प्रजातान्त्रिक हक अधिकारसहित संघीयता र गणतन्त्रजस्ता महत्वपूर्ण उपलब्धिलाई संस्थागत गर्ने संविधान एक वर्षभित्रै निर्माण हुने दाबी गरिएको छ ।
शुभकामना सन्देशमा नयाँ वर्ष विकास निर्माण र आर्थिक उन्नतिको कार्य अगाडि बढाउने प्रस्थान बिन्दुको वर्ष हुनेसमेत उल्लेख गरिएको छ । ‘स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु,’ उनले सन्देशमा भनेका छन्, ‘२०७० सालले नेपालको प्रजातान्त्रिक इतिहासमा अलग्गै स्थान बनाएको छ, यसले पथबाट विचलित भएको प्रजातान्त्रिक प्रक्रियालाई संविधानसभाको शान्तिपूर्ण निर्वाचनका माध्यमबाट सही मार्गमा ल्याउने सफलता पायो ।’
प्रधानमन्त्री कोइरालाले निर्वाचनपछि शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण भएको विषयलाई पनि २०७० को उपलव्धी मानेका छन् । ‘शान्ति प्रकृयाका बाँकी काम सम्पन्न हुने र संविधान निर्माण गरी जारी गर्ने कार्य यो वर्ष पूरा हुने मेरो विश्वास छ,’ उनले भनेका छन्, ‘मंसीर ४ गते सम्पन्न संविधानसभाको शान्तिपूर्ण निर्वाचनपछि नेपालको राजनीतिक र संवैधानिक विकासमा ऐतिहासिक उपलब्धी हासिल भएका छन् ।’
राजनीतिक दलहरुका बीचमा परिपक्वता आएको र मुलुकमा शान्ति र स्थायित्व कायम गर्ने दिशामा सहमति बनिरहेको कुरा पनि सन्देशमा उल्लेख छ । ‘अनुकूल वातावरण बन्दै आएकोले मुलुकमा स्वदेशी र विदेशी लगानीकर्ताको चासो बढ्दै गएको छ,’ उनले भनेका छन्, ‘संविधान निर्माणको मूल दायित्व पूरा गर्दागर्दै पनि विकासको कामलाई गति दिन सकिने मेरो विश्वास छ ।’
त्यसैगरी प्रधानमन्त्री कोइरालाले मुलुकमा शान्ति र अमनचयन कायम भएपछि सडक, रेल्वे, एअरपोर्ट, जलविद्युत आयोजना जस्ता पूर्वाधारको निर्माण तीव्र गतिमा हुने, उद्योग, व्यापार र सेवा क्षेत्रमा व्यवसाय अनुकूल वातावरण सिर्जना हुने र नेपालको आर्थिक विकासले गति लिने विश्वास पनि लिएका छन् । वर्तमान सरकार समस्त नेपालीलाई प्रजातान्त्रिक माध्यमबाट सुख र सुविधा दिन प्रयत्नशील रहेको, शासन र प्रशासनलाई पारदर्शी, उत्तरदायी, ढिलासुस्तिरहित, भष्ट्राचारमुक्त सदाचारयुक्त र नागरिकमुखी शासन बनाइनेजस्ता विषय पनि प्रधानमन्त्री कोइरालाको सन्देशमा उल्लेख छ ।
‘संविधान यसै वर्ष’
नेकपा एमालेका वरिष्ठ नेता माधव माधवकुमार नेपालले पनि एक वर्षभित्रमा संविधान बन्ने ठोकुवा गरेका छन् । नयाँ वर्ष २०७१ सालको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्दै उनले जारी गरेको शुभकामनामा नयाँ वर्षमा देशले नया संविधान पाउने दाबी गरे । उनले शुभकामना सन्देशमा २०७० मा संविधानसभाको दोस्रो निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने तथा जन निर्वाचित सरकार गठन गर्नेजस्ता महत्वपूर्ण उपलब्धी हासिल भएको बताएका छन् ।
उनले सन्देशमा भनेका छन्, ‘तर, जनताको चाहना अनुरुप परिवर्तनलाई संस्थागत गर्ने र आर्थिक प्रगतिको मार्गमा मुलुकलाई लैजाने कार्यलाई गतिका साथ अगाडि बढाउन सकेका छैनौं ।’ उनले नयाँ वर्ष २०७१ मा सबैमा सकारात्मक सोच तथा जनताको जीवनमा वास्तविक एवम् सकारात्मक परिवर्तन आओस् भन्ने शुभकामना पनि व्यक्त गरेका छन् । ‘२०७० मा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमार्फत् बनेको संविधानसभाबाट निर्धारित समयमै संविधान निर्माण गरी प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्दै मुलुकलाई तिब्रतर आर्थकि विकासको बाटोमा अगाडि बढाउने आधार हामीले ०७१ भित्र तयार गरिसक्नु पर्नेछ, उनले भनेका छन् ‘शान्ति, सम्बृद्धि र प्रगति प्रतिको जनचाहनालाई पूरा गर्ने विश्वासिलो वातावरण निर्माण गर्नु आजको प्रमुख चुनौति हो ।’

प्रतिक्रिया