भत्ता बन्यो जीवन सहारा

321धनगढी, २५ चैत । उमेरले ७८ वर्ष नाघेका कालीचरणका लागि दिन काट्न पनि धौ–धौ छ । बाँच्नका लागि भएपनि उनी अहिले जसोतसो दिनचर्या चलाइरहेका छन् । मालाखेती गाविस–२ स्थित मुक्तिनगर मुक्त कमैयाँ शिविरमा रहेका ४ छोरा र तीन छोरीका पिता कालीचरण कमैया मुक्त भएको १३ वर्ष बितिसक्दा पनि जग्गा पाउन नसकेको पीडा भएपनि जेष्ठ नागरिक भत्ता जीवन सहारा बनेको बताउँछन् ।
गाउँविकास समितिमार्फत नेपाल सरकारले दिँदै आएको जेष्ठ नागरिक भत्ताले नै उनको जीवन निर्वाह भैईरहेको छ । ७३ वर्षको छँदा पाँचवर्ष अघि २०६५ साल असोजबाट उक्त भत्ता लिँदै आएका उनी भत्ताले कपडा किन्ने कि खानेकुरा किन्ने भन्ने दोधारमा पर्ने गरेको बताउँछन् । कसै–कसैले जाँड खाएर उडाउने गरेको भएपनि आफूले भने त्यसो नगरेको उनको भनाई छ ।
आफू मुक्त कमैया भएको र चारै छोराहरुले आ–आफ्नो बालबच्चा पाल्नुपर्ने बाध्यता भएको उनी बताउँछन् । तर सबैजना काममा जाने भएपनि आफ्नो भत्तामा कसैले दखल नपुगाएको उनले बताए । उनले भने, ‘हामी गरिब र बुढा दुबै भयौं कसले सोच्छ र हाम्रो बारेमा ? अब बुढो शरीरले केही काम गर्न सकिदैन, नत कुनै आन्दोलन नै गर्न सकिन्छ । त्यसैले जे मिल्यो त्यसैमा सन्तुष्ट हुनुपर्ने हाम्रो बाध्यता हो ।’
श्रीमति ठगिया चौधरीले पनि जेष्ठ नागरिक भत्ता आउनाले उनीहरुलाइ उक्त भत्ताले खान लाउन पुगेको उनको भनाई छ । संगै रहेकी ७६ वर्षिया वृद्धा ठगिया चौधरीले पति कालीचरणको बोलिमा साथै दिँदै भनिन्, ‘हामीले पाएको भत्ताबाट जीवन गुजारा गरेका छौं ।’
यस्तै सोही शिविरमा बस्दै आएकी लहानी देवी चौधरी पनि जेष्ठ नागरिक भत्ताले आफ्नो दिनचर्या चल्ने गरेको बताउँछिन् । मुक्त कमैया परिवारकी ६५ वर्षीया लहानीसंँग नेपाल सरकारले दिएको ५ कठ्ठा जमिन भएपनि ४ छोराहरुलाई घडेरी बाहेक अरु केही बनाउन नसकेको उनी बताउँछिन् । गाविसबाट मिल्ने गरेको जेष्ठ नागरिक भत्ताले आफूलाई भने खान र लत्ता किन्न पुगेको उनी बताउँछिन् । उनले भनिन्, ‘महिनामा ५ सय आउँछ, त्यसले के खाने के लाउने तैपनि जीवन धानेकी छु, बरु सरकारले केही रकम बढाए अझै राम्रो हुने थियो ।×’
सोही शिविरमा बस्दै आएकी अर्की वृद्धा लहिया चौधरी पनि वृद्ध भत्ताले आफूले कपडा किन्ने गरेको बताउँछिन् । खानाको लागि छोरा बुहारीले धान्ने भएकाले आफूले कपडामा सो रकम खर्च गर्ने गरेको उनको भनाई छ । एकल महिला समेत भइसकेकी लहिया ३/४ महिनाको अन्तरालमा पाइने उक्त रकम लिन गाविस नै पुग्नुपर्ने बाध्यताले भने कठिनाई भएको बताउँछिन् ।
जीवनका अन्तिम मोडमा पुगेका उनीहरुले सरकारले प्रदान गरेको जेष्ठ नागरिक भत्ताको सराहना गरेका छन् । तर भत्ता लिन गाविस नै धाउनुपर्ने बाध्यताले भने अलि दुख भएको उनीहरुको गुनासो छ । एक त जेष्ठ नागरिक भत्ता त्यसैमा वृद्धवृद्धाहरु हिँडेर गाविस जान नसक्ने अवस्था रहेकोले वृद्ध–वृद्धाहरुलाई दिइने कुनैपनि भत्ता गाउँघरमै आएर दिनुपर्ने उनीहरुको माग छ ।
शिविरको वडा न. २ मा मात्रै १४ जनाले जेष्ठ नागरिक भत्ता पाउँदै गरेको स्थानीय रोशनी चौधरीले बताइन् । मालाखेती गाविसका वडा न. २ र ४ मा पर्ने मुक्ति नगर शिविरमा १५६ घरपरिवारका मुक्त कमैया परिवारहरु बस्दै आएका छन् । स्थानीय दशीराम चौधरीका अनुसार ती दुवै शिविरमा केहीलाई नेपाल सरकारले जग्गा दिएको छ भने, अझै केही परिवारहरुले जग्गा पाउन सकेका छैनन् । कालीचरण जस्तै नागरिकता र वृद्ध भत्ता पाउने तर जग्गा र लालपुर्जा नपाउनेहरुको पीडा पनि आफ्नै प्रकारको छ ।
जिल्ला विकास समिति कैलालीका सुचना अधिकृत योगेन्द्र ओझाले कैलालीमा जेष्ठ नागरिक भत्तामा मात्रै के कति रकम खर्च भएको छ भनी छुट्याउन नसकिएको बताए । उनले जेष्ठ नागरिक, विधवा भत्ता, असहाय भत्ता, दलित, आदिवासी, जनजाति लगायतका शीर्षक रहेको सामाजिक सुरक्षामा १५ प्रतिशत बजेट छुट्याउने गरेको बताए ।
ओझाका अनुसार यसप्रकारको सामाजिक सुरक्षाका लागि चालु आर्थिक वर्षमा सरकारसँंग २८ करोड माग गरिएको छ । अघिल्लो आर्थिक वर्षमा २७ करोड ५० लाख ७८ हजार माग गरिएकोमा यसवर्ष अलिकति बढाइएको उनले बताए । उनले आर्थिक वर्ष ०६८/०६९ मा माग गरिएको रकम मध्ये १६ करोड ३१ लाख ७६ हजार रकम आएको बताए ।

प्रतिक्रिया