गलत गर्नेलाई वामदेवले नछाड्ने

bamdev

रामेछाप, १७ फागुन । उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले मुलुकमा कुशासन अन्त्य गर्नका लागि अस्थिरता र अराजकता निम्त्याउनेलाई कुनै पनि हालतमा नछाड्ने बताएका छन् ।
पदभार सम्हालेपछि पहिलोपटक उपत्यका बाहिरको सार्वजनिक कार्यक्रममा सहभागी हुन रामेछाप आएका गौतमले व्यभिचारी र अत्याचारीलाई नियन्त्रण गरी शान्ति सुरक्षा प्रदान गर्ने कार्यमा सरकार अठोटका साथ लागिपर्ने बताए । उनले मुलुकबाट भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नका लागि सरकारले अठोट गरेको दाबी दोहोर्‍याए ।
गौरीशंकर उच्च मावि रामेछापको स्वर्ण महोत्सवको शनिबार उद्घाटन गर्दै गौतमले एक वर्षभित्र संघीय गणतन्त्रको संविधान जारी गर्न र ६ महिनाभित्र स्थानीय निकायको निर्वाचनलाई वर्तमान सरकारका साझेदार राजनीतिक दलले प्राथमिकतामा राखेर काम थालेको पनि दाबी गरे । मुलुकलाई निकाश दिनका लागि गरिएका सहमति बमोजिमका काम पूरा गरेरै छाड्ने प्रतिवद्धता उनले व्यक्त गरे । ‘स्थानीय निकायको निर्वाचन सम्पन्न नगरे देशले गति लिन सक्दैन,’ गौतमले भने, ‘त्यसैले पनि उक्त निर्वाचन अपरिहार्य भएको छ ।’

प्रतिक्रिया