एमाले महाधिवेशन जेठमा गर्न प्रस्ताव

फागुन, ११ काठमाडौं । नेकपा एमालेको नवौँ महाधिवेशन आगामी ३ जेठदेखि गर्ने प्रस्ताव गरिएको छ । पार्टी मुख्यालय बल्खुमा आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा महासचिव ईश्वर पोखरेलले महाधिवेशन ३ देखि ८ जेठसम्म गर्ने प्रस्ताव गरेका हुन् । एक महिनाअघि स्थायी कमिटीको बैठकले महाधिवेशन ९ देखि १३ बैशाखसम्म गर्ने प्रस्ताव गरेको थियो ।
महाधिवेशन तयारीका लागि समय नपुग्ने भएकाले बैशाखमा महाधिवेशन गर्न नसकिने निष्कर्षसहित जेठमा गर्ने प्रस्ताव गरिएको एमालेले जनाएको छ । प्रस्तावको मस्यौदामा ३ बाट ८ जेठसम्म महाधिवेशन गर्ने, महासचिव पोखरेलको संयोजकत्वमा मूलआयोजक समिति गठन गर्ने, उपाध्यक्ष वामदेव गौतम संयोजक रहेको मस्यौदा समितिले चैत १५ सम्ममा मस्यौदा लेखिसक्ने, चैत १५ बाट २० सम्ममा केन्द्रीय कमिटी बैठक बसेर मस्यौदालाई टुंगो लगाउनेलगायत विषय रहेका छन् । महाधिवेशन तयारीसम्बन्धी मस्यौदा केन्द्रीय सदस्यहरूलाई वितरणपछि बैठक सोमबार १ बजेसम्मका लागि स्थगित भएको छ । सोमबार पनि बैठक महाधिवेशन तयारीमै केन्द्रित हुने बताइएको छ ।
महासचिव पोखरेलले महाधिवेशन जेठमा गर्ने प्रस्ताव पेस गरेपछि महाधिशेन तयारीसम्बन्धी मस्यौदा पनि केन्द्रीय सदस्यहरूलाई बाँडिएको छ ।
‘आवश्यक तयारी नपुग्ने भएकाले जेठमा महाधिवेश गर्ने प्रस्ताव आएको हो’, एमाले केन्द्रीय सदस्य योगेश भट्टराईले भने, ‘महाधिवेशनमा केन्द्रित भएर पार्टी संगठनको तल्लो तहसम्म वैचारिक बहस पुर्‍याउन पनि जेठमा महाधिवेशन गर्दा समय पुग्छ ।’
संसदीय दलको नेता चयन र सरकारमा सहभागी हुने विषयले एक महिनाभन्दा बढी समय गुज्रिसकेकोले समय अपुग हुने निष्कर्ष निकालिएको छ । एमालेका तत्कालीन महासचिव मदन भण्डारीको स्मृति दिवस पारेर जेठ ३ गते महाधिवेशन उद्घाटन गर्ने गरी केन्द्रीय कमिटीमा प्रस्ताव आएको एक नेताले जानकारी दिए ।

प्रतिक्रिया