सभामुखमा नेम्बाङ निर्विरोध

siwasa

काठमाडौं, ६ फागुन । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङ संविधानसभा अध्यक्षमा निविर्रोध निर्वाचित भएका छन् । मंगलबार बसेको संविधानसभा व्यवस्थापिका संसदको बैठकले नेम्बाङलाई सभामुखमा निविर्रोध निर्वाचित गरेको हो ।
सभामुखका लागि अन्य कसैको पनि उम्मेदवारी नपरेपछि नेम्बाङ निविर्रोध भएका हुन् । यसअघि एकीकृत माओवादीले संविधानसभाको अध्यक्ष आफूलाई दिनुपर्ने माग राखेको भए पनि प्रमुख दुई दलहरू कांग्रेस र एमालेसँग सहमति नभएपछि नेम्बाङ कांग्रेस, राप्रपा र राप्रपा नेपालको समर्थनमा संविधानसभा अध्यक्ष चुनिएका हुन् । एमाले र कांग्रेसबीच गत २६ माघमा भएको सात बुँदे सहमतिमा एमालेलाई सभामुख दिने सहमति भएको थियो । माओवादीले सुरुमा आफ्नोतर्फबाट नेता कृष्णबहादुर महरालाई अघि सार्ने बताए पनि अन्तिममा आएर उनको उम्मेदवारी परेन ।
नेम्बाङ पहिलो संविधानसभामा पनि अध्यक्ष थिए । नेम्बाङलाई सभामुख बनाइयोस् भनी एमाले संसदीय दलका नेता केपी ओलीले बैठकमा प्रस्ताव गरेका थिए । ओलीको प्रस्तावलाई कांग्रेस महामन्त्रीसमेत रहेका सभासद् कृष्ण सिटौलाले समर्थन गरेका थिए । आन्दोलनको बलमा ०६३ सालमा पुन: स्थापित प्रतिनिधिसभामा पनि नेम्बाङ नै सभामुख थिए । त्यसपछि पहिलो संविधानसभामा पनि नेम्बाङ नै प्रमुख भए । कांग्रेस महामन्त्री सिटौलाले विगतमा नेम्बाङले निभाएको भूमिकाका आधारमा आफूहरूले समर्थन गरेको बताए । कानुनमा स्नातक गरेका नेम्बाङ यसअघिको व्यवस्थापिका संसदमा सभामुख, ०५६ मा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्षसमेत भइसकेका छन् ।
उनी गत ४ मंसिरमा भएको संविधानसभा चुनावमा ईलाम – २ बाट संविधानसभामा निर्वाचित भएका थिए । कुनै बेला वकालत पेसामा रहेका नेम्बाङको राजनीतिक पृष्ठभूमि मात्र नभई संसदको सभामुख र संविधानसभाको अध्यक्ष भइसकेको अनुभव पनि छ । नेम्बाङ ०२८ सालमा महेन्द्ररत्न बहुमुखी क्याम्पस, ईलामको प्रथम निर्वाचित स्ववियु सभापति थिए । यसैगरी, ०४३ सालमा नेपाल बार एसोसिएसनको महासचिव थिए । ०५१ सालमा प्रधानमन्त्री मनमोहन अधिकारीको ९ महिने सरकारमा नेम्बाङ कानुन तथा न्याय मन्त्रीसमेत थिए ।
‘उच्चस्तरको समझदारीको सुरुवात’
काठमाडौ : एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले दलहरूबीच उच्चस्तरको समझदारी सुरु भएको बताएका छन् ।
नेता ओलीले संविधानसभा अध्यक्ष पदका लागि एमालेले अघि सारेका उम्मेदवारविरुद्ध अन्य कसैले पनि उम्मेदवारी नदिएर दलहरूले उच्चस्तरको राजनीतिक समझदारी देखाएको बताए । ‘यस प्रकारको संस्कृतिलाई आगामी दिनमा अझ अगडि बढाएर लैजानु पर्छ, हामीबीच कतिपय मतभेदका बाबजुद कतिपय साझा काम पनि छन्,’ ओलीले भने, ‘संविधान जारी गर्नु सबैको साझा काम हो । हामीबीच देखिएको दोष र त्रुटीलाई समाप्त पारेरअगाडि बढ्न आवश्यक छ ।’
सभाअध्यक्ष नेम्बाङका प्रस्तावकसमेत रहेका ओलीले संविधानसभामा आफ्नो मन्तब्य दिँदै भने, ‘उहाँ पूर्णरूपमा दलीय नियन्त्रण भन्दाबाहिर हुनुहुन्छ, त्यही भएर निष्पक्ष र स्वतन्त्ररूपमा काम गर्न सक्नुहुन्छ ।’

प्रतिक्रिया