डा. केसीले तोडे अनशन

doctr_gobindaकाठमाडौ, ३ फागुन । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले आठ दिन लामो अनशन शनिबार तोडेका छन् । सरकारले आफ्ना माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि डा. केसीले अनशन तोडेका हुन् । उनकै मागपछि त्रिविले वरिष्ठताका आधारमा डिनसमेत नियुक्त गरेको थियो ।
स्वास्थ्य क्षेत्रमा माफियाको राज र राजनीतिक हस्तक्षेप अन्त्य हुनुपर्ने माग राख्दै डा. केसी चौँथोपटक अनशन बसेका हुन । सरकारी टोलीले शुक्रबार आन्दोलनरत चिकित्साशास्त्र अध्ययन संस्थानका चिकित्सकसँग ६ बुँदे सहमति गरेपछि उनले अनशन तोडेका हुन् । मुख्यसचिव, शिक्षा सचिव र चिकित्सक संघका अध्यक्षसहितको सरकारी टोली र तीन मेडिकल बिद्यार्थी संघले डा. केसीलाई जुुस खुवाएर अनशन तोडाएका थिए ।
संस्थानमा डिन नियुक्तिलगायत विषयमा विरोध जनाउँदै यसअघि पनि उनले १४ दिन अनशन बसेका थिए । सरकारले माग पूरा गर्न ध्यान नदिएको भन्दै एक साता अगाडिदेखी उनले पुन: अनशन थालेका हुन् । डा. केसीको यो चौँथो अनशन हो । सरकारले प्रहरीसहित चार मेडिकल कलेजलाई सम्बन्धन दिने विषयमा छानबिनका लागि अख्तियारलाई निर्देशन दिने प्रतिबद्धता जनाएको छ ।
डा. केसीको संस्थानलाई स्वायत्त संस्था बनाउने मागबमोजिम छलफलका लागि २१ दिनभित्र त्रिवि सभा बोलाउने सहमति भएको छ । त्रिविको कुलपतिको हैसियतमा प्रधानमन्त्री सुशील कोइरालाले संस्थानलाई स्वायत्त बनाउने मागसम्बन्धी प्रस्तावलाई २१ दिनभित्र त्रिवि सभामा पेस गर्न निर्देशन दिएका छन् । वरिष्ठताका आधारमा त्रिवि कार्यकारी परिषद्ले नियुक्त गरेको प्रा.डा राकेशप्रसाद श्रीवास्तवले शुक्रबार पद बहाली गरेका छन् ।

प्रतिक्रिया