आइतबारबाट मौसम सफा हुने

Nepal-Glaciers-Climate-Ch-001
काठमाडौं, २ फागुन । मौसम पूर्वानुमान महाशाखाले आइतबार साँझदेखि मौसममा सुधार आउने जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले देशभर मौसममा परिवर्तन आएको हो ।
अरब सागरबाट उच्च वायुमण्डल न्यून चापीय क्षेत्र बन्दै गएको र त्यो पश्चिमी भेगबाट मध्यभेग हुँदै पूर्वी भेगतर्फ सर्दै जाने क्रम चलिरहेको मौसमविद् सुभाष रिमालले जानकारी दिए । पश्चिमी क्षेत्रका जुम्ला र डडेल्धुरामा करिब ४ मिमि र मध्य भागको भैरहवामा ६ मिमि वर्षा भएको तथा पूर्वतिर वर्षाको प्रभाव नरहेको महाशाखाले जनाएको छ ।
मौसमविद् रिमालले मौसममा सुधार वायुमण्डलमा न्यून चापीय क्षेत्र सर्दै जाने तीव्रतामा निर्भर गर्ने भए पनि आइतबारदेखि देशभरको मौसम सफा हुँदै जाने संकेत देखिएको जानकारी दिए ।
सोलुखुम्बुमा वर्षाले थप चिसो
यसपटकको हिउँदमा तेस्रोपटक वर्षा भएपछि सोलुखुम्बुमा थप जाडो भएको छ । शुक्रबार बिहानैदेखि वर्षा सुरु भएपछि जिल्लामा चिसो अत्यधिक बढेको छ । जिल्लाको माथिल्लो क्षेत्रमा वर्षासँगै हिउँसमेत परेको तथा तल्लो क्षेत्रमा बिहानैदेखि सिमसिम पानी परिरहेको छ । जिल्लामा केही न्यानो सुरु भए पनि अहिले भएको वर्षाले चिसो ह्वात्तै बढेको छ । जिल्लाको माथिल्लो क्षेत्रका विद्यालयमा जाडो बिदा सकिन थालेको अवस्थामा एक्कासि जाडो बढेपछि बालबालिकालाई विद्यालय जान समस्या भएको छ । गाईवस्तु तथा घरबाहिर काम गर्नेलाई पनि समस्या भएको बताइएको छ ।

प्रतिक्रिया