राजनीतिक संरक्षणमा गुन्डागर्दी गर्नेलाई नछाड्ने

ramesh_kharel copy
काठमाडौं, १ फागुन । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश खरेलले राजनीतिक संरक्षणमा गुन्डागर्दी गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् । प्रमुख खरेलले दलाल र भष्ट्राचारीबाट टाढा रहन मातहतका प्रहरीलाई निर्देशनसमेत दिएका छन् । काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको १० दिनपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा गरी उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । काठमाडौं प्रहरी प्रमुख खरेलले १० बुँदे कार्ययोजनासमेत सार्वजनिक गरेका छन् ।
राजनीतिक संरक्षणमा रहेर अपराधमा संलग्नहरूको क्रियाकलापमाथि निगरानी भइरहेको भन्दै उनीहरूलाई कारवाहीको दायरमा ल्याइने दाबी खरेलको छ । फरार भनिएका अपराधीलाई पक्राउ गरी अदालतको फैसला कार्यान्वयनमा सहयोग गर्ने पनि कार्ययोजना अगाडि सारेका छन् ।
एसएसपी खरेलले प्रहरीको आचरणमा तथा व्यवहारमा सुधार ल्याउने दाबी गर्दै काठमाडौं प्रहरीले जनताको रोल मोडल भएर काम गर्ने दाबी गरे ।
खरेलको कार्ययोजनामा भ्रष्ट्राचार र दण्डहीनताविरुद्ध शून्य सहनशीलताको नीति अवलम्वन गर्ने, सामाजिक विकृति, जुवातास, वेश्यावृतीजस्ता अनैतिक काम रोक्ने, दलाल, अपराधी, भ्रष्टाचारी तथा अवैध कारोवार गर्नेहरूसँग टाढा रहने उल्लेख छ । यसैगरी खरेलले कार्ययोजनामा नागरिक र प्रहरीसम्बन्ध सुदृढ गर्ने, चोरी लुटपाटका घटना न्यूनीकरण गर्न प्रहरी परिचालनमा व्यापकता दिने र प्रहरी कर्मचारीको कामअनुसार पुरस्कार तथा दण्डसजायको व्यवस्था गर्ने उल्लेख छ ।
खरेलले राजनीतिक संरक्षणमा गुण्डागर्दी गर्नेहरूलाई कानुनको दायरमा ल्याई कार्वाही गर्ने प्रतिबद्धता ब्यक्त गरे । प्रधानमन्त्री सुशिल कोइरालाका पिए लक्ष्मण ढकालले टेलिफोन गरी हिरासतमा रहेका गुण्डालाई छाड्न दवाव दिएको भोलीपल्ट खरेलले राजनीतिक संरक्षणमा गुण्डागर्दी गर्नेलाई नछाड्ने बताएका हुन् । काठमाडौं प्रमुख भएलगत्तै एसएसपी खरेलले उनलाई भेट्न हनुमान ढोका पुगेका बले भनिने बलराम सापकोटालाई पक्राउ गरेका थिए । त्यस्तै तेजेन्द्र गुरुङ नाम गरेका अर्का गुण्डालाई पनि खरेलले हिरासतमा लिएका छन् । सापकोटा र गुरुङलाई छुटाउन प्रधानमन्त्रीका स्वकिय सचिव र अन्य केही कांग्रेसी नेताहरूले खरेललाई दबाव दिएको बताइएको छ ।

प्रतिक्रिया