स्वच्छ छविका प्रधानमन्त्री

काठमाडौ, २७ माघ । ७ अहिलेसम्म कुनै पनि लाभको पदमा नबसेका र स्वच्छ छविका कोइराला विगत ५० वर्षदेखि लोकतान्त्रिक आन्दोलनमा सक्रिय छन् । बुवा बोधप्रसाद कोइराला र आमा कुमुदिनी कोइरालाको कोखबाट साउन १९९६ मा उनको जन्म भएको हो । फिल्मको हिरो हुने सोचले अगाडि बढेका कोइराला राष्ट्रिय राजनीतिमा सक्रिय हुन थाले ।
मध्यपश्चिमको नेपालगन्जका स्थायी बासिन्दा कोइराला वीरगन्जको ठाकुराम हाइस्कुलमा अध्ययनरत रहँदादेखि राजनीतिमा सक्रिय थिए । उनी बिपी कोइरालाको व्यवहारबाट प्रेरित भएर राजनीतिमा सक्रिय भएका थिए । ०१७ देखि २०३७ सालसम्म भारतमा निर्वासित जीवन विताएका कोइरालाले विमान अवहरण काण्डमा विशेष भूमिका खेलेका थिए ।
भारतमा पक्राउ परेर उनले तीन बर्षभन्दा बढी जेलसमेत परेका थिए । उनले जेलमा रहँदा चर्को यातनासमेत भोगेका थिए । कोइरालालाई ०३७ सालमा जनमतसंग्रह हुनुभन्दा केही हप्ता पहिला पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालासँगै आममाफी दिइएको थियो । सुशील कोइराला नेपाली कांग्रेसको मुखपत्र तरुणको सम्पादकसमेत भएका थिए । उनी पार्टीको विदेश विभाग प्रमुखसमेत बनेका थिए । नवौँ महाधिवेशनबाट पार्टी महामन्त्री ,पार्टी उपसभापति हुँदै एघारौँ महाधिवेशनमा कार्यवाहक सभापति र बाह्रौ महाधिवेशनमा पार्टीको सभापतिमा निर्वाचित भए । कोइरालालाई विभिन्न समयमा सत्ता र सरकारमा जाने अवसर मिले पनि उनले अस्वीकार गर्दै आएका थिए ।
०६४ सालको संविधानसभाको निर्वाचनमा मधेसी जनअधिकार फोरमका सर्वदेव ओझासँग पराजित भएका कोइराला दोस्रो निर्वाचनमा भने बाँके र चितवनबाटै निर्वाचित भए । प्रधानमन्त्रीबाट गिरिजाप्रसाद कोइरालाले राजीनामा दिएपछि ०५८ सालमा भएको संसदीय दलको निर्वाचनमा कोइराला वरिष्ठ नेता शेरबहादुर देउवासँग पराजित भएका थिए । तर, हालै भएको संसदीय दलको निर्वाचनमा भने देउवालाई १६ मतले पराजित गर्न कोइराला सफल भएका थिए । नवनिर्वाचित प्रधानमन्त्री कोइराला अविवाहित् हुन् । कोइरालाका ६ भाइ र ६ बहिनी छन् ।

प्रतिक्रिया