एमालेले आज दलको नेता छान्दै

काठमाडौं २०, माघ । संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गर्न नेकपा एमाले असफल हुने लक्षण देखिएको छ । दलको नेता छान्न सोमबार दिउँसो बसेको केन्द्रीय कमिटीको बैठक विनानिश्कर्ष मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएपछि यो सम्भावना बढेर गएको हो ।
बैठकमा संसदीय दलको नेता पार्टी प्रमुख हुने परम्परा रहेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष झलनाथ खनाललाई दलको नेता छान्न प्रस्ताव गरेपछि केपी ओलीले पनि दलको नेता बन्न आफू इच्छुक रहेको भन्दै आफ्नो नाम आफैँ प्रस्ताव गरे । बैठकमा उपाध्यक्ष वामदेव गौतमले ओलीलाई समर्थन गरेका थिए । त्यसपछि बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले दलको नेता सर्वसम्मत रूपमा चुन्न नेतृत्वलाई अनुरोध गरेका थिए । त्यसलगत्तै मंगलबार बिहानसम्म सहमति गर्न नेताहरूलाई सुझाव दिँदै बैठक स्थगित गरिएको थियो ।
सहमति गर्न बैठक स्थगित भए पनि ओली पक्षले आफ्ना पक्षका सभासद् तथा पार्टी नेताहरूलाई सोमबार राति अबेरसम्म खानपिनसहित नयाँ बानेश्वरस्थित अल्फाबिटा भवनमा भेला गरेर आफ्नो पक्षमा माहोल बनाउने रणनीति बनाएको थियो । त्यस्तै संस्थापन पक्षको बैठक त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा बसेको थियो ।
एमालको इतिहासमा पहिलोपटक संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ । दलको नेतामा नेता ओलीले मंगलबार दिउँसोसम्म पनि अडान नछाडेमा एमालेमा पहिलोपटक दलको नेता छान्न निर्वाचन हुनेछ । ०४८ सालदेखि पार्टी प्रमुख नै सर्वसम्मत संसदीय दलको नेता हुने गरेका थिए । तर, अहिले सो परम्परा तोड्दै वरियता क्रममा तेस्रोमा रहेका ओलीले पनि दलको नेतामा दाबी प्रस्तुत गरेका छन् ।
एमालेमा केन्द्रीय कमिटीबाट सर्वसम्मत नेताको प्रस्ताव लगेर संसदीय दलमा अनुमोदन गराउने परम्परा थियो । तर, उक्त प्रयास यसपटक असफल हुने सम्भावना बढेको छ । ०४८ र ०५१ मा सर्वसम्मत मनमोहन अधिकारी दलको नेता चुनिएका थिए । त्यस्तै ०५६ मा पार्टी प्रमुखको हैसियतले माधव नेपाल र ०६४ सालमा अध्यक्ष खनाल सर्वसम्मत दलको नेता बनेका थिए ।
संस्थापन पक्षले भने पार्टीको परम्परालाई तोड्न नमिल्ने बताउँदै आएको छ । ओली समूहले भने नेतृत्व परिवर्तन गर्नुपर्ने र नयाँलाई अवसर दिनुपर्ने अडान लिँदै आएको छ ।
बैठकमा बोल्ने अधिकांश नेताहरूले पनि सकभर सर्वसम्मत दलको नेता छान्न नेतृत्वलाई आग्रह गरेका थिए । उनीहरूले रातभरमा सहमति गरेर भए पनि मंगलबार सर्वसम्मत नाम ल्याउन दबाब दिएका थिए ।
कुनै समय अध्यक्ष खनालका निकट मानिएका उपाध्यक्ष वामदेव गौतमले समेत ओलीलाई समर्थन दिएका छन् । सर्वसम्मत नेता चयन गर्नका लागि नेताहरूबीच छलफल जारी रहेको एमालेले जनाएको छ ।
अझै पनि सहमतिको प्रयास भइरहेको र त्यसो हुन नसके मात्रै मंगलबार दिउँसो निर्वाचन हुने एमालेका एक नेताले सौर्यलाई जानकारी दिए ।
केन्द्रीय कमिटीबाट कुनै निणर्य हुन नसकेपछि दुवै नेताले आ–आफ्ना पक्षका सभासद् र नेतालाई बोलाएर गोप्य भेटघाट सुरु गरेका छन् । यो क्रम सोमबार राति अबेरसम्म पनि जारी रह्यो ।

प्रतिक्रिया