अब्बल बनेर देखाउँछु

tara_rai copyतारा राई, यतिबेला एमालेको तर्फबाट दोस्रो संविधानसभा सदस्य भएकी छन् । पूर्वी नेपालको भोजपुरमा जन्मेकी राई विद्यार्थी जीवनबाटै तत्कालीन माले पार्टीको विद्यार्थी संगठनमा आवद्ध थिइन् । जनताको मुक्तिका लागि पार्टीको आवश्यकता उनले उतिबेलै बुझेकी थिइन् । उनको रोजाइमा कम्युनिस्ट पार्टी रह्यो । पूर्वी नेपालमा बढेको कम्युनिस्टहरूको जगजगी उनले नजिकबाट हेरिन् । पञ्चायतको आतंकबाट बच्न र जनताबीच काम गर्न कम्युनिस्टहरूले बनाएको ‘रातोझन्डा’ नामक संगठनमा उनी संगठित भइन् । तत्कालीन अवस्थामा जनतालाई जाग्रित बनाउन सक्रिय ‘राल्फा’ समूहको सांस्कृतिक अभियानले उनलाई धेरै प्रभाव पारेको थियो । हजुरबुवाले ००७ सालको राणाविरोधी आन्दोलनमा शाहदत्त प्राप्त गरेको प्रभावले उनी निरंकुश व्यवस्थाविरुद्धको अभियानमा लागेकी थिइन् । समय क्रममा लामो अवधि सरकारी जागिर खाँदा उनले एमालेको कर्मचारी संगठनमा संगठित भएर काम गरिन् ।

मलाई यतिबेला अत्यन्तै गर्वको अनुभूति भएको छ– लामो समयदेखि नेपाली जनताले चाहेको संविधान बनाउने गौरवमय जिम्मेवारी पाएकामा । पार्टीले मूल्यांकन गरेर मलाई यो जिम्मेवारी दिएको हो भन्ने लागेको छ । पार्टीमा लाग्दा यस्ता महत्त्वपूर्ण जिम्मेवारी पाउँला भन्ने सोचेकीे थिइनँ । उतिबेला सुनेकी थिएँ कम्युनिस्टहरू केही पाउनका लागि नभई जनताको मुक्तिका लागि पार्टीमा लाग्छन् भन्ने । मैले आफूले पनि पद वा प्रतिष्ठा पाउनेबारे मनको कुनै कुनामा सोचेकी थिइनँ । जनताको मुक्ति र उत्पीडनविरुद्धको आन्दोलनमा लागेकी थिएँ । हिजोको तिनै मेरो काम र समर्पणको मूल्यांकन भएको महसुस गरेकी छु, अहिले ।
भोजपुरको बासिखोरा गाउँमा जन्मेँ, हुर्केँ । त्यहीको स्कुलमा अध्यन गर्ने क्रममा तत्कालीन माले पार्टीका कार्यकर्ताहरूसँग मेरो सम्पर्क भयो । उतिबेला साना–साना केटाकेटीलाई पार्टीले संगठित गर्थे । आठ–नौ कक्षा पढ्दादेखि उतिबेलाको राल्फाली आन्दोलनले मलाई प्रभावित बनायो । तत्कालीन माले पार्टीलाई समर्थन गर्ने सांस्कृितक अभियान थियो, राल्फा समूह । उतिबेला पञ्चायती व्यवस्थाको दमनको कारण पार्टी खुल्ला थिएनन् । जनताबीच जान पार्टीको अहिलेजस्तो अनेक जनसंगठन पनि थिएनन् । त्यतिबेला पार्टीले ‘रातोझन्डा’ भनिने संगठन बनाएको थियो, म पनि त्यसैमा लागेँ । पछि पार्टीले ‘रातोझन्डा’ विघटन गरेर ‘कोओर्डिनेसन’ कमिटी बनायो । म अशोक राईमार्फत कोओर्डिनसन कमिटीमा संगठित भएँ । ०३५/३६ सालमा विद्यार्थी संगठनमा संगठित हुनु सामान्य कुरा थिएन । अनेक जोखिम थियो । छोरी मान्छे भएका कारण परिवार र समाजले हेर्ने दृष्टिकोण संकुचित थियो भने अर्कोतर्फ सरकारी दमन चर्को थियो । कति बेला कहाँ मरिन्छ पत्तै नहुने अवस्था थियो । अहिलेकोजस्तो सहज थिएन । उतिबेला अनेक प्रकारका समस्या थिए । तर, विचार र परिवर्तनका लागि लाग्नेहरूलाई अन्य समस्या सामान्य हुँदो रहेछ । जतिसुकै गाह्रो भए पनि मलाई जनताको मुक्तिका लागि पार्टीमा लाग्ने मोहले छोडेन । त्यसैले त्यति बेलादेखि अहिलेसम्म निरन्तर रूपमा लागिरहेकी छु । पार्टीमा लाग्नु भनेको पार्टी कमिटीमा रहनु वा ठूलो पदमा रहनु मात्र होइन । पार्टीेनिकट रहेका र पार्टीले सञ्चालन गरेका पेसा व्यवसायीको संगठनमा रहनु पनि हो । त्यतिबेलादेखि आजसम्म म एमालेको विचार र सिद्धान्तबाट अलग छैन । समय र परिस्थितिअनुसार विभिन्न संगठनमा रहेर काम गर्दै आएकीे छु ।
जीवन जिउनका लागि आफ्नो योग्यता र क्षमताअनुसार काम गर्नुपर्छ भन्ने मान्यताले लामो समय नेपाल बैंकमा कर्मचारी भएर सेवा गरेँ । सरकारी कर्मचारी रहँदा पनि म नेकपा एमालेको कर्मचारी संगठनमा आवद्ध थिएँ । सरकारी कर्मचारी भएर पार्टीमा लाग्नु जोखिम थियो । तर, पनि त्यो जोखिमलाई सहज रूपमा लिएर संगठनको काम छोडिनँ । सरकारी कर्मचारी भएर कम्युनिस्ट पार्टीमा लाग्नु सजिलो थिएन । तर, मैले जागिरलाई भन्दा पार्टीको निर्देशनलाई महत्त्व दिएँ । साँच्चै भन्ने हो भने जागिरको मोह त्यागेँ, विचारबाट कहिल्यै विचलित भइनँ । पेसाले कहिले शिक्षक भएँ, कहिले बैंक कर्मचारी, जहाँ–जहाँ रहे पनि पार्टीसँगै थिएँ । गाउँमा शिक्षक हुँदा केटाकेटी पढाउनुको साथै जनतालाई परिवर्तनका लागि सचेत गराउथेँ । कहिल्यै पनि मेरो सम्बन्ध पार्टीसँग टुटेन । त्यतिबेला मैले बुझेको कम्युनिस्ट विचारले मलाई गाइड गरेको थियो, मुलुकको आमूल परिवर्तन कम्युनिस्ट राजनीतिले मात्र गर्ने छ भन्ने । आमजनताको मुक्तिका लागि पेसासँगै राजनीति गर्नुपर्छ भनेर सधैँ लागेँ । पेसा बाँच्ने आधार थियो, विचार मुलुक परिवर्तन गर्ने लक्ष्य । सानैदेखि बोकेको विचार र लक्ष्यका कारण वैयक्तिक जीवनको मोह नगरेर उठाएको जोखिमको मूल्यांकन हो, मैले यतिबेला पाएको जिम्मेवारी ।
नेपाली जनताको आसा र विश्वास पहिलो संविधानसभाले पूरा गर्न सकेन । जनताले गरेका अपेक्षा पहिलो संविधानसभाले पूरा गर्न नसक्नु थुप्रै कारण थिए होलान् । जनताले फेरि पार्टीहरूलाई दोस्रो अवसर दिएका छन् । अब मलाई विश्वास छ, यो संविधानसभाले नेपाली जनतालाई संविधान दिनेछ, भन्ने । जनताको विश्वास र भरोसा यो संविधानसभाले पूरा गर्नेछ । गएको संविधानसभाजस्तो रित्तो हात जनताबीच फर्कने छैनौँ, हामी । व्यक्तिगत रूपमा कसैले एक्लै संविधान लेख्ने होइन । सबैको सक्रियता र सहभागितामा लेखिने हो । यतिबेला म आफू संगठित रहेको पार्टी नेकपा एमालेको भूमिका र सक्रियताले नेपाली जनतालाई संविधान दिन्छ भन्नेमा विश्वस्त छु । यो संविधानसभाले नेपाली जनतालाई तोकिएको समयभित्र संविधान दिनेमा अब शंका गरिनु हँुदैन । जनताले पार्टीहरूलाई गरेका विश्वास अब पूरा गर्ने बेला भएको छ । गएको संविधानसभाले गरेका त्रुटीहरू सच्याउँने अवसर हो, यो संविधानसभा । त्यसैले मलाई विश्वास छ पार्टीहरूले यसलाई अवसरको रूपमा लिएर समयमा संविधान बनाउने कुरामा गम्भीर हुनेछन् ।
मलाई यतिबेला लागेको छ– मैले अवसर र चुनौति प्राप्त गरेकीे छु । तर, यति ठूलो अवसर प्राप्त गरौँला भनेर कहिल्यै सोचेकी थिइनँ । जतिबेला राजनीति कुराहरू सुन्थेँ, कम्युनिस्टहरू केही पाउनका लागि राजनीतिमा लाग्दैनन् भन्ने बुझेँ किनभने नेताहरू सुनाउथेँ, ‘हामी कम्युनिस्टहरू आफ्ना लागि केही पाउँला भनेर पार्टीमा लाग्ने होइन, देश र जनताका लागि आवश्यक परे जस्तोसुकै त्याग गर्न पनि तयार हुनु पर्छ ।’ त्यसैले मैले सोचेकी थिइनँ कुनै दिन सभासद् वा मन्त्री हुँला भनेर । कुनै ठूलो पद वा ओहोदा पाउने कुरा मनमा कल्पना पनि गरेकी थिइनँ । तर, समयसँगै पार्टीले मेरो योगदानको मूल्यांकन गरेको छ । म देशका सम्पूर्ण शोषित पीडित जनताको जीवनमा आमूल परिवर्तन ल्याउने महान् लक्ष्यसहित एउटा सहयोगी बन्न पार्टीमा लागेकी थिएँ । जनताले सुख पाउन् भनेर लागेकी थिएँ । अहिले मेरोसामु ठूलो चुनौति र जिम्मेवारी छ– जनतालाई लोकतान्त्रिक संविधान दिने काममा उल्लेखनीय भूमिका खेल्नु । जनता पहिलो संविधानसभाबाट संविधान नबनेका कारण आक्रोशित छन् । अब हामीले जनताको त्यो आक्रोसलाई शान्त पार्न यो संविधानसभाबाट संविधान बनाउनुपर्छ । यस्तो महत्वपूर्ण जिम्मेवारी पाउँदा गर्व लाग्नु स्वाभाविकै हो । तर, पूर्ण रूपले म त्यतिबेला गौरव अनुभूति गर्ने छु जतिबेला नेपाली जनताले खोजेको र चाहेकोजस्तो सबैले अपनत्त्व ग्रहण गर्ने संविधान निर्माण गर्नेछौँ ।
म सभासद् भएसँगै केही सञ्चार माध्यममा मेराबारे टिका–टिप्पणी आएको देखेँ । त्यसले मलाई केही दु:खी बनायो । जुन ढंगले मेराबारे समाचार आयो त्यो गलत थियो । तर, त्यो समाचारले मलाई अझ चर्चित बनाएको छ । बुझेर लेखेको भए राम्रो हुने थियो । किन र के का आधारमा यस्तो कुरा आयो मलाई थाहा छैन । ती सबै निराधार हल्ला मात्र थिए । तर, मैले त्यसैको कारण आफ्ना विगतलाई सबैका सामु राख्ने अवसर पनि पाएँ । उहाँहरूप्रति मेरो कुनै गुनासो छैन । म सहिद परिवारको सदस्य हुँ । ००७ सालमा भएको राणाविरोधी आन्दोलनमा सहिद हुने रामप्रसाद राईकी नातिनी हुँ । परिवारको कुनै सदस्य सहिद भएपछि परिवारका अरु सदस्य पनि राजनीतिसँग जोडिँदा रहेछन् । म यहाँसम्म आउनुमा उनै सहिद हजुरबुवाको प्रेरणा हो । र, यतिबेला एमालेले तिनै ००७ सालका सहिद परिवारको सम्मान गरेको महसुस गरेकी छु, मैले । एमालेले सहिद परिवारको सदस्यलाई दिएको सम्मान हो, यो । जहाँसम्म मेरो कुरा छ, म विद्यार्थी रहँदा नै राजनीतिक गतिविधिमा सक्रिय थिएँ । १६–१७ वर्षको उमेरदेखि वामपन्थी आन्दोलनमा लागेको मान्छेका लागि यस्ता आरोप लगाउनु खुट्टा तान्ने प्रवृत्ति हो भन्ने लाग्छ । तर, यसलाई मैले सामान्य रूपमा लिएकी छु । यी सबै आरोपहरू राजनीतिक संस्कारभन्दा बाहिर गएर गरिएको छ । आरोप लगाउने र आलोचना गर्नेहरूले तथ्यमा रहेर टिक्ने गरी गर्नुपर्छ । यस किसिमका सस्तो आरोप र आलोचनाले मेरो यात्रामा कुनै असर पार्दैन ।
समानुपातिक सभासद् म मात्र होइन । अरु पनि विभिन्न क्षेत्रबाट आउनु भएको छ । कोही किसान, मजदुर, महिला, जातजाति अनेक पेसा र व्यवसायका व्यक्तिको प्रतिनिधित्व समानुपातिकमा भएको छ । एमाले ठूलो पार्टी भएकाले यो पार्टीमा धेरै नेता कार्यकर्ता छन् । ठूलो पार्टी र धेरै नेता कार्यकर्ता भएका कारण सबैले यो अवसर नपाउन सक्छन् । पार्टीले निर्णय गर्दा सोचविचार गरेर गरेको होला । जिम्मेवार र पचासौँ वर्ष पार्टी चलाएर आएका नेताहरूले हचुवाको भरमा यो निर्णय गरे भन्ने मलाई लाग्दैन । एमालेभित्र म मात्र होइन, अरु पनि धेरै नेता कार्यकर्ता हुनुहुन्छ । यो पार्टीमा धेरैको लगानी छ । सबैको एउटै प्रकारको लगानी हुन्छ र सबै एउटै क्षेत्रमा काम गर्छन् भन्ने हुँदैन । मैले जेजति सकेँ, आफ्नो क्षेत्रबाट पार्टीको लागि गरेँ । पेसामा मात्र लागिनँ, पार्टीका लागि सतिसाल जस्तै उभिइरहेँ । म पनि एमालेको अरु नेता कार्यकर्ताभन्दा कम छैन । पार्टीले जुन कामका लागि खटाउँछ, त्यो काम गर्न म सधैँ तयार छु ।
पहिलो संविधानसभाको तुलनामा योपटक महिलाको संख्या घटेको छ । म महिला भएका नाताले महिलाको अधिकार सुनिश्चित गर्ने काममा सक्रियतापूर्वक लाग्ने छु । विगतका दिनमा हामीले हेरेका छौँ, महिलाका विषयमा ‘तर, वा, अथवा’ जस्ता शब्द झुन्डयाएर पछाडि पार्ने काम हुने गरेका छन् । अब त्यस्तो हुन दिने छैनौँ । म आफ्नो एकेडेमिक क्षमतालाई यो संविधानसभामा प्रस्तुत गर्ने छु । सिंगो नेपाली महिलाको सम्मान र अधिकार सुनिश्चितताका लागि आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका खेल्ने छु । महिलाका लागि ठूलो भूमिका खेल्ने सोच बनाएकी छु । संविधान निर्माणमा सशक्त भूमिका खेल्नेछु । एमालेका महिला सभासद्हरूले अरु पार्टीबाट आएका महिला सभासदहरूसँग पनि समन्वय गरेर महिला अधिकारका लागि जोडदार आवाज उठाउने छन् । विगतमा जस्तो पार्टीले मानेन भनेर हामी निरीह भएर आउने छैनौँ । जे गर्न संविधानसभामा गएको छौँ, त्यो काममा आफ्नो क्षमता देखाउने छौँ ।
म पहाडमा जन्मेको राईकी छोरी । पार्टीले अवसर दिएको छ, यसलाई चुनौतिको रूपमा लिएकीे छु । आफूले बुझेका, सिकेका र पढेका ज्ञानको आधारमा आफूलाई संविधानसभामा उभ्याउनेछु । पार्टीले सही व्यक्ति छनोट गरेको छ त्यसैअनुसार काम गरेर देखाउने छु । मेराबारे आएका नकारात्मक कुरालाई सकारात्मकतामा ढालेर काम गरेर देखाउने छु । काम र भूमिकाले चिरेर अगाडि बढ्नेछुु । मेराबारे गरिएका नकारात्मक कुराले मलाई प्रेरणा दिएको छ । मैले अरुले भन्दा कम होइन, अझ बढी काम गरेर देखाउनु पर्छ भन्ने म आफैँले महसुस गरेकी छु । जानी–नजानी मलाई प्रेरणा र हौसला दिने सबैप्रति म कृतज्ञ छु । अगाडि आउने सबै चुनौतिको सामना गर्ने क्षमता मसँग छ । भोलिका दिनमा सबैलाई महसुस हुनेगरी काम गरेर देखाउने छु ।
(चमिना भट्टराईसँगको कुराकानीमा आधारित)

प्रतिक्रिया