विपक्षमा बस्ने एमालेको चेतावनी

काठमाडौं, १७ माघ । संविधानसभामा दास्रो ठूलो दल नेकपा एमालेले सम्मानजनक प्रस्ताव नआए आफ्नो दल विपक्षमा बस्ने बताएको छ । सरकार गठनका सन्दर्भमा नेपाली कांग्रेससँग सहमतिको लिखित प्रस्ताव माग गर्दै आएको एमालेले सम्मानजनक अवस्था नभए सरकारमा जानुको औचित्य नहुने निक्र्यौल गरेको छ ।

स्थायी समितिको शुक्रबार बसेको बैठले कांग्रेसले सहमतिको सम्मानजनक प्रस्ताव दिन नसके आफ्नो दल प्रतिपक्षमा बस्ने निर्णयसमेत गरेको छ । बैठकले कांग्रेसको प्रस्तावमा सम्मानजनक स्थिति नरहे संविधान लेखनलाई केन्द्रमा राखेर अघि बढ्ने निर्णय गरेको वरिष्ठ नेता माधवकुमार नेपालले सञ्चारकर्मीहरूलाई जानकारी दिए ।
सम्मानजनक प्रस्ताव आए सँगै मिलेर जान सकिने उनको भनाइ थियो । बैठकले नवौँ महाधिवेशनको तयारीका लागि उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा उपाध्यक्ष विद्या भण्डारी, महासचिव ईश्वर पोखरेल, सचिवहरू विष्णु पौडेल, शंकर पोखरेल र युवराज ज्ञवालीसमेत रहेको २५ सदस्यीय मस्यौदा लेखन समिति पनि गठन गरेको छ ।

माधव र वामदेवले छाडे

रौतहट, १७ माघ । रौतहट क्षेत्र नं. १ बाट समेत संविधानसभा सदस्य पदमा निर्वाचित भएका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले काठमाडौं क्षेत्र नं. २ छाडेका छन् ।

दुई निर्वाचन क्षेत्रबाट विजयी भएका सभासदहरूले एक क्षेत्र अनिवार्य रूपमा उप निर्वाचनका लागि छाड्नु पर्ने भएपछि एमाले नेता नेपालले काठमाडौ क्षेत्र नं. २ छाडेका हुन् । नेपालले काठमाडौं. २ छाड्ने विषयमा शुक्रबारको स्थायी समिति बैठकले निर्णय लिएको हो । बैठकले दुई स्थानबाट निर्वाचन जितेका उपाध्यक्ष वामदेव गौतमले बर्दिया–१ बाट छाड्ने निर्णय गरेको छ ।
गौतमले बर्दिया–१ र प्युठान– १ बाट जितेका थिए । गत निर्वाचनमा झिनो मत अन्तरले रौतहट क्षेत्र नं १ बाट विजयी बनेका नेपालका लागि काठमाडौ या रौतहट मध्ये कुन छाड्ने भन्नेमा दोधार थियो । रौतहट नेता नेपालको गृह जिल्ला पनि हो । माघ १८ गते शनिवार भित्र गत मङसिर ४ गते सम्पन्न संविधानसभा सदस्य निर्वाचनमा दुई–दुई क्षेत्रबाट निर्वाचित उम्मेदवारले एक क्षेत्रबाट राजिनामा दिन पर्ने सूचना निर्वाचन आयोगले गरेपछि एमाले नेता नेपालले यस्तो निर्णय गरेका हुन । दुई स्थानबाट निर्वाचन जितेका नेपाली कांग्रेसका सभापति सुशिल कोइराला र बरिष्ठ नेता शेरबहादुर देउवाले पनि एक एक क्षेत्र छाडेका छन् । कोइरालाले चितवन–४ छाडेका छन् । त्यस्तै देउवाले कैलाली–६ छाड्ने निर्णय गरेका छन् ।

प्रतिक्रिया