काठमाडौं । वातावरणीय अवस्थाको आधारमा नेपाल विश्वको एक सय ३९ औं स्थानमा परेको छ । वल्र्ड ईकोनोमिक फोरुमको सहयोगमा यल युनिभर्सिटी र कोलम्बिया युनिभर्सिटीले गरेको एक सय ७८ देशको अध्ययनले यस्तो देखाएको हो ।
शनिबार स्विट्जरल्याण्डको जेनेभामा सार्वजनिक भएको उक्त इन्भारोमेन्टल पर्फर्मेन्स ईन्डेक्स (इपिआईं) २०१४ अनुसार नेपालले जम्मा एक सयमा ३७ नम्बर मात्रै प्राप्त गरेको छ । यसमा पछिल्लो १० वर्षमा नेपालले ४ दशमलव ९६ प्रतिशतले आफ्नो वातावरणीय अवस्था सुधार गरेको गरेको छ ।
८७ दशमलव ६७ अंकका साथ स्विट्जरल्याण्ड पहिलो स्थानमा ८३ दशमलव २९ अंकका साथ लग्जेम्बर्ग दोस्रो नम्बरमा र ८२ दशमलव ४० नम्बरका साथ अष्ट्रेलिया तेस्रो स्थानमा रहेका छन् । त्यस्तै चौथो देखि १० औं नम्बर सम्म क्रमश: सिंगापुर, चेक रिपब्लिक, जर्मनी, स्पेन, अष्ट्रिया, स्विडेन र नर्वे परेका छन् ।
सुचकांकमा भारत नेपालभन्दा १५ औं स्थान पछाडि एक सय ५५ स्थानमा परेको छ । ३१ दशमलव २३ अंक प्राप्त गरेको भारतले पछिल्लो १० वर्षमा ५ दशमलव ४० प्रतिशतले आफ्नो वातावरणीय अवस्था सुधार गरेको छ । यस्तै पाकिस्तान एक सय ४८ र अफगानिस्तान एक सय ७४ औं नम्बरमा परेका छन् ।
हरेक दुई वर्षमा हुने यस अध्ययन स्वास्थ्य प्रभाव, वायू प्रदुषणको अवस्था, पानी र सरसफाई, माछा पालन, कृषि, वन, जैविक विविधता र जलवायु परिवर्तन एवं ऊर्जा लगायतका विषयमा केन्द्रित रहने गरेको छ । यीमध्ये वायु प्रदुषणमा नेपालको अवस्था दयानिय रहेको छ । जसमा नेपाल १६ दशमलव २३ अंकका साथ दोस्रो अन्तिम अर्थात् एक सय ७७ नम्बरमा परेको छ ।
समग्रमा एक सय ३९ औं स्थानमा रहेको नेपाल स्वास्थ्य प्रभावका आधारमा ५६ दशमलव ७९ अंकका साथ एक सय १५औं स्थानमा, पानी र सरसफाईमा २२ अंकका साथ एक सय ३३ औं स्थानमा, पानीको स्रोतको आधारमा शुन्य अंकका साथ एक सय ४५ औं स्थानमा, जैविक विविधता र वासस्थानको आधारमा ६१ दशमलव ७९ अंकका साथ ९२ औं स्थानमा, वनका आधारमा ६३ दशमलव १२ नम्बरका साथ २६ औं नम्बरमा र कृषिमा ९२ अंकका साथ १७ औं स्थान ओगट्न सफल भएको छ ।
जलवायु परिवर्तन एवं ऊर्जा र माछापालनमा नेपालको प्राप्ताङ्क खुलाईएको छैन ।
प्रतिक्रिया