दोस्रो संविधानसभाको पहिलो बैठक आज

काठमाडौं, ७ माघ । दोस्रो संविधानसभाको पहिलो बैठक आज बस्दै छ । बैठकमा सरकारले मनोनित गर्ने २६ सदस्यबाहेक प्रत्यक्ष तथा समानुपातिकतर्फका ५ सय ७५ सदस्य सहभागी हुँदै छन् ।

अघिल्लो संविधानसभाले ८० प्रतिशतभन्दा बढी काम गरेको दाबी गरिए पनि त्यसले जनतालाई नयाँ संविधान दिन सकेन र दोस्रोपटक संविधानसभाको निर्वाचन गर्न मुलुक बाध्य भयो । पहिलो संविधानसभामा एमाओवादी मुलुकको पहिलो शक्ति बन्न सफल भएको थियो । तर, अहिले नेपाली कांग्रेस पहिलो शक्तिका रूपमा स्थापित भएको छ । वर्तमान संविधानसभामा नेपाली कांग्रेसबाट १ सय ९६, एमालेबाट १ सय ७५ र एमाओवादीबाट ८० सभासदले संविधानसभामा प्रतिनिधित्व गरेका छन् ।
संविधानसभाको पहिलो बैठक बस्ने अघिल्लो दिन मंगलबार प्रत्यक्ष र समानुपातिकतर्फका सभासदले सपथ लिएका छन् । ६०१ मध्ये २६ जना मनोतित हुन बाँकी छ ।
सभासद्ले लिए सपथ
काठमाडौं : दोस्रो संविधानसभाका सभासद्ले मंगलबार सपथग्रहण गरेका छन् । संविधानसभाका नवनिर्वाचित सदस्यहरूलाई संविधानसभामा निर्वाचित ज्येष्ठ सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले राजधानीको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पद तथा गोपनीयताको सपथ दिलाएका छन् ।
सपथग्रहण गरेका सभासद्लाई मंगलबार नै संविधानसभा सचिवालयले लोगो पनि हस्तान्तरण गरेको छ । अधिकांश सभासद्ले नेपाली भाषामा सपथ लिए पनि केही सभासद्ले भने आफ्नै मातृभाषामा सपथ लिए । सपथको भाषा नेपाली नै हुनुपर्ने बाध्यता नरहेपछि ४४ जना सभासद्ले आफ्नै मातृभाषामा सपथ लिएका थिए । तीमध्ये मैथिलीमा १३, हिन्दीमा ११, अवधीमा ५, गुरुङ र लिम्बूमा २–२ तथा थारु, भोजपुरी, मधेसी, किरातीमा एक–एक जना सभासद्ले सपथ लिएको संसद् सचिवालयले जनाएको छ । हाल संविधानसभामा रहेका सबै ५ सय ६५ जना सभासद् सपथग्रहणमा उपस्थित थिए । यसपटकको संविधानसभामा दुई स्वतन्त्र सभासद्सहित ३० राजनीतिक दलका ५ सय ७५ सदस्यको प्रतिनिधित्व रहेको छ । दोस्रो संविधानसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत २ सय ४० निर्वाचन क्षेत्रबाट चुनिएका र समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत चयन भएका ३ सय ३५ सदस्य छन् ।
ज्येष्ठ सदस्य थापालाइ सोमबार राष्ट्रपति डा.रामवरण यादवले सपथ गराएका थिए । सपथग्रहण कार्यक्रममा ५ जना सभासद् अनुपस्थित रहेको संविधानसभा सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्द्वारा नियुक्त हुने २६ जनाको नियुक्ति अझै भएको छैन । संविधानसभाको पहिलो बैठक आज बस्दै छ । संविधानसभाबाट संविधान लेख्नका लागि सभासद्हरूले सपथ लिएको यो दोश्रोपटक हो ।

प्रतिक्रिया