दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलाको अन्त्येष्टि आगामी ३० मंसिर अर्थात् डिसेम्बर १५ तारिखमा इस्टर्न केपस्थित उनकै पुख्र्यौली गाउँ कुनुमा गरिने भएको छ ।
मन्डेलाको निधन भएका कारण आइतबार दक्षिण अफ्रिकामा राष्ट्रिय प्रार्थना दिवस आयोजना गरिनेछ । जोहानेसबर्ग नजिकैको रंगशालामा शोकसभा आयोजना गरिने बताइएको छ । अन्त्येष्टि गर्नुपूर्व मन्डेलाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि तीन दिनसम्म प्रिटोरियामा राखिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बिहीबार राति ९५ वर्षको उमेरमा निधन भएका नेल्सन मन्डेलाप्रति श्रद्धाञ्जली अर्पण गर्न हजारौँ जनता जोहानेसबर्ग तथा सोवेतोका सडकमा भेला भएका छन् । सोवेतोस्थित उनको पुरानो घरबाहिर पनि सयौँ जनता जम्मा भएर प्रार्थना गर्दै फूल चढाइरहेका छन् । उनको निधनप्रति विश्वका नेताहरूले गहिरो दु:ख प्रकट गरेका छन् । विश्वभरका नेताहरूले मन्डेलालाई उच्च सम्मान गर्दै श्रद्धाञ्जली प्रकट गरेका छन् । मन्डेलाको बिहीबार राति आफ्नै घरमा निधन भएको थियो । मन्डेलाले रंगभेदविरोधी आन्दोलनका क्रममा २७ वर्ष जेल जीवन बिताएका थिए । मन्डेला दक्षिण अफ्रिकाका पहिलो निर्वाचित अश्वेत राष्ट्रपति हुन् ।
प्रतिक्रिया