मन्डेलाको निधनले विश्व स्तब्ध

Mandelaजोहानेस्बर्ग, २२ मंसिर । विश्वप्रसिद्ध रंगभेदविरोधी दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेलाको ९५ वर्षको उमेरमा निधन भएको छ ।

शान्तिका लागि नोबेल पुरस्कार प्राप्त गरेका दक्षिण अफ्रिकाको पहिलो अश्वेत राष्ट्रपति मन्डेलाको बिहीबार राति आफ्नै निवास जोहानेस्बर्गमा निधन भएको हो । केही महिनादेखि फोक्सोको संक्रमणका कारण उनको महिना दिनभन्दा लामो समय अस्पताल र त्यसपछि घरमै उपचार गरिँदै आएको थियो । पटक–पटक फोक्सोमा संक्रमणका कारण मन्डेलालाई एक वर्षयता मात्र तीनपटक अस्पताल भर्ना गरिएको थियो ।
दक्षिण अफ्रिकाको राष्ट्रिय टेलिभिजनबाट राष्ट्रपति ज्याकोब जुमाले मन्डेलाको निधनको समाचार प्रत्यक्ष प्रसारणमार्फत जानकारी गराएका थिए । निधनको समाचार सुनाउँदा राष्ट्रपति जुमा पनि भावुक देखिएका थिए । ‘हामी र हाम्रा सबै नागरिकले एक असल पिता गुमाएका छौं,’ जुमाले भनेका थिए, ‘हाम्रो देशले एक जना सच्चा सपूत गुमाएको छ ।’
उनले आँसु झार्दै समाचार सुनाएका दृश्य स्थानीय टेलिभिजनहरूले बारम्बार प्रसारण गरिरहेका छन् । उक्त समाचार सार्वजनिक भएलगत्तै मन्डेलाको घरबाहिर नागरिकको भिड लाग्न थालेको थियो । निधनको समाचारपछि दक्षिण अफ्रिकी जनतामा रुवाबासी चलेको छ । उनीहरू रुँदै–कराउँदै मन्डेलाको निधनप्रति दु:खमनाउ गरिरहेका छन् । उनीहरूले सो समाचारले आफूहरूलाई आफ्नै पिताको निधन भएसरहको पीडाको अनुभूति भएको बताइरहेका छन् ।
‘अब हामीले यस्ता अभिभावक देशमा पाउने छैनौँ,’ उनीहरू भनिरहेका छन्, ‘उहाँको जस्तो योगदान बोकेर देशमा सायदै कुनै नेताले जन्म लेला ।’
तीन महिनादेखि घरमै सघन उपचारकक्ष निर्माण गरी मन्डेलाको उपचार गरिएको थियो । उनी यस अवधिमा अचेत अवस्थामा थिए । ‘यस्तो अवस्थामा रहनुभएकाले जुनसुकै बेला पनि उहाँको निधनको समाचार आउने अपेक्षामा त नागरिक थिए नै तापनि सो समाचारले दक्षिण अफ्रिकी नागरिकमा निकै ठूलो चोट पुर्‍याएको महसुस गरेका छन्,’ सञ्चारमाध्यमले भनेका छन् ।
२०औँ शताब्दीको राजनीतिका शिखर पुरुषका रूपमा चर्चित नेता मन्डेलाको निधनले दक्षिणी अफ्रिकी मात्र होइन, विश्वलाई नै स्तब्ध बनाएको छ । दक्षिण अफ्रिकामा अश्वेत जातिविरुद्ध व्याप्त विभेद अन्त्यका लागि मन्डेलाले गरेको संघर्षले विश्वका अश्वेत जातिलाई राजनीतिक अधिकार प्राप्तिका लागि अगाडि बढ्न र स्थापित गर्न ऊर्जा प्रदान गरेको थियो । अश्वेत जातिका लागि मात्र नभई प्रजातान्त्रिक आन्दोलनकै अग्रणी व्यक्ति मन्डेलाले दक्षिण अफ्रिकामा प्रजातन्त्र र अश्वेत नागरिकको अधिकार स्थापना गर्न २७ वर्षसम्म जेल जीवन बिताउनुपरेको थियो ।
उनको अन्त्येष्टि राजकीय सम्मानका साथ गरिने भएको छ । राष्ट्रपति जुमाले मन्डेलाको अन्त्येष्टिका लागि विशेष तयारीको निर्देशन टेलिभिजन सम्बोधनमार्फत दिएका थिए । दक्षिण अफ्रिकामा शुक्रबार राष्ट्रिय झन्डा आधा झुकाइएको छ । देशमा राष्ट्रिय बिदाको घोषणा गरिएको छ भने उनको अन्त्येष्टिका लागि राज्य र सरकारले आ–आफ्नो हिसाबले व्यापक तयारी गरिरहेका छन् ।
मन्डेलाको निधनप्रति शोक व्यक्त गर्न अमेरिकामा पनि झन्डा आधा झुकाइने समाचार एजेन्सीहरूले जनाएका छन् । मन्डेलालाई संसारकै र अमेरिकाका पनि काला जातिका नागरिकका अभिभावकका रूपमा सो निर्णय गरिएको समाचारमा उल्लेख छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले केही दिनअघि दक्षिण अफ्रिकाको भ्रमणमा रहँदा मन्डेला संसारकै प्रेरणाको स्रोत भएको उल्लेख गरेका थिए । उनले मन्डेला निवासमै पुगेर स्वास्थ्यलाभको कामना गरेका थिए ।
देशका सबै रेडियो तथा टेलिभिजनमा शोकधुन बजाइएका छन् । नागरिकले दु:खका गीत गाइरहेका छन् । कतिपय नागरिकले शोक धुन बजाउँदै उनको योगदानका कविता वाचन गरिरहेका छन् । मन्डेला निवासअगाडि रुँदै बसिरहेका एक युवाले भने, ‘आज सूर्य उदाइरेको छ र भोलि पनि उदाउला तर हिजोजस्तो सूर्य अब कहिल्यै उदाउने छैन, त्यस्तो पारिलो घामले अब हामीलाई कहिल्यै छुने छैन ।’
रंगभेदविरोधी आन्दोलनका अग्रणी मन्डेलाको स्वास्थ्य अवस्था सोमबारदेखि थप गम्भीर बन्दै गएपछि उनको निवासमा सरकारी अधिकारी, विभिन्न राजनीतिक दलका नेतालगायत सर्वसाधारण नागरिकको ठूलो भिड लाग्ने गथ्र्याे । उनी दक्षिण अफ्रिकामा पूर्वराष्ट्रपतिभन्दा बढी राष्ट्रपिताका रूपमा सम्मानित छन् । उनको स्वास्थ्य स्थितिलाई ध्यानमा राख्दै राष्ट्रपति जुमाले केही महिनादेखि नै आफ्ना विदेश भ्रमणका कार्यक्रम रद्द गरेका थिए । २७ वर्षसम्म काराबासको कठिन जीवन बिताई, राजनीतिमा सक्रिय भई, पाच वर्षसम्म दक्षिण अफ्रिकाको राष्ट्रपति पदमा रही, अत्यन्त लोकप्रिय भएका त्यागी नेता मन्डेलाले ६७ वर्षसम्म देशसेवा गर्न पाए ।
रंगभेद नीतिविरुद्ध लामो समय युद्ध लडेर सफलता हासिल गरेको र दक्षिण अफ्रिकामा स्थायी शान्ति कायम गर्न अतुलनीय योगदान पुर्‍याएको भन्ने अभिव्यक्तिका साथ संयुक्त राष्ट्रसंघले उनको सम्मानमा १८ जुलाइलाई नेल्सन मन्डेला अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने घोषणा गरेको छ ।
काराबास मुक्त भएको तीन वर्षपछि मन्डेलालाई नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो । विखण्डनतर्फ उन्मुख हुन लागेको मुलुकलाई विस्तारै दृढताका साथ उनले सम्हालेका थिए । राष्ट्रको एकीकरणमार्फत बलिष्ठ र नयाँ दक्षिण अफ्रिकाको निर्माण गरेका थिए ।
सन् १९१८ जूलाइ १८ का दिन पूर्वीय केपटाउनको मामेलोदी नामक गाउँमा जन्मिएका मन्डेलाले कानुनमा स्नातक तहको शिक्षा हासिल गरेका थिए । केही वर्षसम्म वकालतको पेसा अपनाई २६ वर्षको उमेरमा राजनीतिमा होमिएका उनले सन् १९४४ मा अफ्रिकन नेसनल कंग्रेस स्थापना गरेका थिए । सन् १९५६ मा उनीमाथि राष्ट्रविरुद्ध षड्यन्त्र गरेको र राष्ट्रघात गरेकोजस्ता आरोप लगाइएको थियो । सन् १९६२ मा उनलाई गिरºतार गरी राष्ट्रिय सम्पत्ति ध्वंश गरेको र राष्ट्रलाई हानि पुर्‍याएको अभियोगमा पाँच वर्षको काराबास सजाय दिइएको थियो । सन् १९६४ मा पुन: संगीन आरोप लगाई आजीवन काराबासको सजाय सुनाइएको थियो ।
शासकहरूले उनलाई सन् १९९० मा जेलमुक्त गरेका थिए । जनआन्दोलन चर्कंदै गई थेग्नै नसक्ने अवस्थामा पुगेकाले उनको रिहाइका लागि तत्कालीन शासक बाध्य बनेका थिए । सन् १९९४ मा भएको पहिलो प्रजातान्त्रिक आमचुनावमा उनले अत्यधिक बहुमत हासिल गरी त्यसै वर्ष पहिलो दक्षिण अफ्रिकी अश्वेत राष्ट्रपति बनेका थिए ।
त्यसपछि सन् १९९९ मा भएको आमचुनावमा उनी उम्मेदवार भएनन् । अफ्रिकन नेसनल कंग्रेसबाट अरूलाई नै अघि बढ्ने मौका दिई उनी आफू संरक्षक नेताको हैसियतमा मात्र रहन पुगेका थिए । ८६ वर्षको उमेरमा सन् २००४ मा उनले सार्वजनिक जीवन र सक्रियताबाट सन्न्यास लिएका थिए । एचआइभी एड्सजन्य रोग लागेर सन् २००५ मा उनको एक छोराको मृत्यु भयो भने त्यसपछि मानसिक चोटका उनमा निराशा उत्पन्न भएको बताइन्थ्यो ।
तेस्रो विवाह गरेका उनले जीवनको अन्तिम समय विभिन्न पारिवारिक चिन्ता, पीडा, आरोह–अवरोह व्यहोर्नुपरेको थियो । तीन/चार जना सन्तानको मृत्यु र परिवारका केही सदस्यको झगडाका कारण तनाव उत्पन्न भएको बताइएको थियो । मन्डेला दक्षिण अफ्रिकाका लागि मात्र नभई विश्वका लागि त्यागी, कर्मठ र प्रेरणाको स्रोत बनिरहनुहुनेछ । उनको निधनले विश्वका अश्वेत आन्दोलनमा लाग्ने अगुवाहरूका साथै नेता तथा प्रजातन्त्रवादीमा ठूलो चोट परेको अनुभूत भएको छ ।

प्रतिक्रिया