‘सीमावर्ती क्षेत्रका समस्या समाधान गर्न तयार’

काठमाडौं, २० मंसिर । नेपालको पुर्वी सीमा क्षेत्रका ब्यापारी र जनताले भोग्नुपरेका समस्या समाधान गर्न भारत तयार रहेको भारतीय राजदुत रन्जित रेले बताए । भारतीय राजदूतावासको सहयोगमा झापा उद्योग सङ्घको आयोजनामा बुधवार भद्रपुरमा आयोजना भएको ‘सीमा व्यापार समस्या र चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रममा राजदुत रेले यस्तो धारणा राखे ।

सो अवसरमा व्यापारीलाई सामान छुटाउन सिलिगुडी जानुपर्ने समस्या रहेको, पानीटयाङ्कीमा बैंक नहुँदा थप समस्या भएको भन्दै व्यापारीहरुले आयकर पदाधिकारीलाई पानीटयाङ्कीमा बस्ने व्यवस्था मिलाउनुपर्ने सुझाव राखेका थिए । यसका साथै, पानीटयाङ्कीमा क्वारेन्टाइनको प्रयोगशाला नहुँदा सामानको जाँच गराउन कलकत्ता जानुपर्ने, भारतीय ५०० र हजारको नोटको प्रतिबन्धका कारण अनाहकमा निर्दोष मानिसहरु पक्राउमा पर्ने गरेको र सो कारणले भारतीय पर्यटकहरुको आगमनमा समेत कमी आएको उनीहरुको भनाइ थियो ।
कार्यक्रममा प्रतिबन्धित लागुऔषध भारतको सीमावर्ती क्षेत्रमा निर्वाध रुपमा बिक्री वितरण भइरहेकाले त्यसमा रोक लगाउन र भारतीय रेलमा सिटको आरक्षण व्यवस्था गर्न पनि माग गरिएको थियो । उक्त अवसरमा नेपालका लागि भारतीय राजदूत रेले नेपाल–भारतबीच व्यापारको क्रममा देखिएका कतिपय समस्या समाधान भइसकेको र अन्य समस्या समाधानका लागि भारत तत्पर रहेको बताए । उनले मेची राजमार्गअन्तर्गतको चारआलीदेखि केचनासम्मको ४० किलोमिटर सडक निर्माणको काम केही दिनमै सुरु हुने बताए ।

प्रतिक्रिया