काठमाडौं, १९ मंसिर । व्यवसायमा सुपरहिट चलचित्र ‘चपली हाइट’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री विनिता बराल पुन: नाटकमा फर्किएकी छन् । अभिनेता राजेश हमाल नाटकमा छिरेको केही दिनपछि नै अभिनेत्री बिनिता पनि नाटकमा छिरेकी हुन् ।
करियरको सुरुवातमा नाटकबाट अभिनय सुरुवात गरेकी अभिनेत्री विनिताले म्युजिक भिडियो, चलचित्र र किसान पेसालाई अँगाल्दै पुन: नाटक मञ्चनमा देखिन लागेकी हुन् । अभिनेत्री विनिताले अभिनय गर्ने निर्देशक डेबोरा मेरोलाको नाटक ‘टेलिङ अ टेइल (किचेन ड्रामा)’मा आगामी शुक्रबारदेखि बेलुकी साढे ४ बजेसम्म लाजिम्पाटस्थित भिलेज थिएटरमा मञ्चन हुनेछ । महिला हिंसामा आधारित नाटकमा विनिताले पीडित युवतीको भूमिका निर्वाह गर्दैछिन् । नाटकमा अभिनेत्री बरालबाहेक राजकुमार पुडासैनी, दिव्य देव, गोपाल अर्याल र संगीता थापालगायतले अभिनय गर्दैछन् । दुई घन्टा लामो अंग्रेजी भाषाको नाटक विभिन्न १६ भागमा विभाजन गरिएको छ । अंग्रेजी भाषामा काम गर्दा अंग्रेजी चलचित्रमा अभिनय गरेजस्तो हुने विनिताको तर्क छ । २३ मंसिरसम्म चल्ने नाटक तीन वर्षअघि सार्वजनिक भएको ‘टेलिङ अ टेल’ नामक पुस्तकबाट प्रभावित छ । अर्चना थापाद्वारा सम्पादित पुस्तकमा नेपाली युवती र महिलाहरूका कथा समावेश गरिएको छ ।
अभिनेत्री बिनिताले चलचित्रमा अभिनय गर्नुअघि नै अनुप बरालसँग नाटक प्रशिक्षण लिएकी थिइन् । उनले उक्त समयमा ‘द ग्रेट सर्कस’ नामक सडक नाटकमा काम गरेकी थिइन् ।
प्रतिक्रिया