दुर्घटनामा ९ को मृत्यु

रामेछाप, १८ मंसिर । रामेछापमा सोमबार भएका दुई छुट्टाछुट्टै दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । सुकाजोर गाविसमा बस दुर्घटना हुँदा ७ र सेलेघाटनजिकै बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा २७ जना घाइते भएका छन् ।

रामपुर गाविसबाट मन्थली आउँदै गरेको रामेछाप यातायातको बा २ ख ३१६६ नम्बरको बस बिहान सुकाजोर ६ पालेवननजिकै दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै र एकको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेमा रामपुर–३ का ८५ वर्षीय सन्तबहादुर श्रेष्ठ, रामपुर ५ की ५० वर्षिय कमला तामाङ, ५५ वर्षिय नीरबहादुर तामाङ, रामपुर २ का ५० वर्षिय डोडराज तामाङ, रामपुर १ का ६० वर्षिय महाविर माझी र ओख्रेनी ४ माइत भई चिसापानी १ की ३० वर्षिया जानुका श्रेष्ठ छन् । अर्का एक पुरुषको सनाखत हुन सकेको छैन ।
दुर्घटनाका घाइतेमध्ये गम्भीर अवस्थामा रहेका ८ जनालाई हेलिकप्टरबाट काठमाडौ लगिएको छ । अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गाडी सडकबाट करिब १ सय ५० मिटर तल खसेको छ ।
त्यस्तै मन्थलीबाट सेलेघाट जाँदै गरेको बसको ठक्करबाट घटनास्थलमै दुई जनाको ज्यान गएको छ । सेलेघाटनजिकैको मसनटार मोडमा उनीहरूलाई बसले ठक्कर दिएको थियो । प्रहरीका अनुसार दुर्घटनामा मन्थली–७ का २२ वर्षीय उपेन्द्र कार्कीसहित दुईको ज्यान गएको हो । अर्का युवकको सनाखत हुन सकेको छैन । ठक्कर दिने रामेछाप यातायातको बा २ ख ३२६३ नम्बरको वस र त्यसका चालक पूर्णवहादुर माझीलाई नियन्त्रणमा लिएको रामेछाप जिल्ला प्रहरीका प्रहरी निरीक्षक राजेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया