१२ प्रतिशत परिवार शौचालय विहिन

जुम्ला : विभिन्न जिल्लाहरु खुला दिसामुक्त जिल्ला बने पनि जुम्लामा करिब १२ प्रतिशत घरपरिवार अहिले पनि शौचालयको पहुँच बाहिर रहेको छ । जिल्ला खानेपानी तथा सवडिभिजन कार्यालय जुम्ला र एसएनभी नेपालको समन्वयमा जुम्लामा गरिएको अन्तक्र्रिया कार्यक्रममा आगामी फागुन २४ गते जुम्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने लक्ष्य लिएपनि अहिले सम्म कतिपय घरमा शौचालयको व्यवस्था नभएको देखिएको छ ।

यसको लागी सञ्चारमाध्यमबाट चाल्नु पर्ने भूमिका र प्रवाह गर्नुपर्ने सन्देशका विषयमा कार्यक्रममा छलफल गरिएको थियो । जिल्लाका ३० वटा गाविसका २१७ बस्तीमा २१ हजार ४ सय ९९ घरधुरी संख्या रहेको छ । जसमा १८ हजार ९२८ (करिब ८८ प्रतिशत) घरधुरीमा मात्र शौचालयको पँहुच रहेको एसएनभी नेपालका खानेपानी तथा स्वास्थ्य सरसफाइ सल्लाहकार गोविन्द रोकायले बताए । जुम्लाका २३ वटा गाविस दिसामुक्त क्षेत्र घोषणा भइसकेका छन् भने बाँकी सात गाविस पनि दिसामुक्त घोषणा हुने तीव्र तयारीमा छन् । हुम्ला, मुगु र डोल्पा जिल्लामा आठ/आठ वटा गाविस मात्र दिसामुक्त क्षेत्र घोषणा भएका छन् । सरसफाइका दृष्टिकोणले अन्य जिल्लाभन्दा जुम्ला धेरै अगाडि छ । जिल्ला खानेपानी तथा सवडिभिजन कार्यालय र एसएनभी नेपालले गाविस सचिव, विद्यालय स्रोत व्यक्ति र सञ्चारकर्मीसागको अन्तक्र्रिया तथा छलफलबाट आएका सुझाव सल्लाहलाई राष्ट्रिय सरसफाइ गुरुयोजना २०६८ को मर्म पूरा गर्नमा सहयोग मिल्ने जनाएको छ । (सौस)

प्रतिक्रिया