काठमाडौं, १७ मंसिर । स्वास्थ्य निकायको क्षमता थप सुदृढीकरणका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयले एकआपसमा सहकार्य गर्ने भएका छन् ।
स्थानीय स्वायत्त शासन ऐन, २०५५ र नियमावली २०५६ अनुरुप कृषि, स्वास्थ्य, वन र शिक्षासम्बन्धी सेवाग्राही निकायलाई स्थानीय निकायले पनि जिम्मेवारी, नेतृत्व, व्यवस्थापनको स्वामित्व तथा सञ्चालन गर्न ती दुई मन्त्रालयले सहकार्य गर्न लागेका हुन् । स्थानीय स्वास्थ्य शासन सुदृढीकरणसम्बन्धी ती मन्त्रालयद्वारा तयार पारिएको सहकार्यको खाकामा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य मन्त्रालयका सचिव डा प्रवीण मिश्रले संयुक्त रूपमा आइतवार आयोजित कार्यक्रममा हस्ताक्षर गरे । ती दुवै मन्त्रालयका मन्त्री विद्याधर मल्लिकको उपस्थितिमा भएको सो सहकार्यको मुख्य उद्देश्य स्थानीय निकायमा प्रदान गरिने स्वास्थ्य सेवालाई थप प्रभावकारी तथा गुणस्तरीय बनाउने रहेको छ । स्थानीय तहको आवश्यकतामा आधारित भई स्वास्थ्य सेवा प्रदान गर्ने, व्यवस्थापन गर्ने र स्थानीय निकायले नेतृत्व लिने पद्धति सुदृढ गरी सेवाग्राहीप्रति उत्तरदायित्व अभिवृद्धि गर्ने सो सहकार्यको खाकामा रहेको छ ।
स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागका महानिर्देशक भीम उपाध्यायले सबै वर्ग, लिङ्ग, जाति, क्षेत्र र समुदायमा गुणस्तरीय स्वास्थ्य सेवा सहजरूपमा पुर्याई स्थानीय स्वास्थ्य शासन प्रणालीलाई स्थापित गर्ने सहकार्यको खाकामा रहेको जानकारी दिए । सहकार्यको खाकामा ती मन्त्रालयद्वारा स्वीकार गरिएका सिद्धान्तमा स्थानीय शासन पद्धति र स्थानीय स्वास्थ्य प्रणालीको सुदृढीकरण, स्वास्थ्य क्षेत्रको प्रतिफल राम्ररी हासिल गर्न बहु विषयगत पद्धति, स्वास्थ्य एक महत्वपूर्ण स्थानीय विकासको विषयवस्तु, उत्तरदायित्व, स्थानीय नेतृत्व, स्वामित्व, सामुदायिक सशक्तीकरण, सहभागिता र क्षमता विकास रहेका छन् ।
महानिर्देशक उपाध्यायले सहकार्यको खाकामा दुवै मन्त्रालय, जिल्ला विकास समिति, नगरपालिका र गाउा विकास समितिको भूमिका र उत्तरदायित्व रहेको जानकारी दिए । कार्यक्रममा मन्त्री मल्लिकले मानवीय विकासका लागि स्वास्थ्य क्षेत्रमा लगानी बढाउन आवश्यक भएको धारणा राखे । उनले विकेन्द्रीकरणको निक्षेपणलाई कार्यान्वयनमा ल्याउन मन्त्रालयबीचमा पहिलो पटक सहकार्यको खाका तयार गरी कार्यान्वयनमा ल्याइएको जानकारी दिँदै हस्ताक्षरको मसी सुक्न नपाउँदै कार्यान्वयनमा समस्या नदेखाउन दुवै मन्त्रालयलाई आग्रह समेत गरे ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा मिश्र र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव श्रेष्ठले स्थानीय स्वास्थ्य शासन सुदृढीकरणका लागि भएका सहकार्यलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया