म्याग्दी, १७ मंसिर । सूचना तथा सञ्चार मन्त्री माधव पौडेलले संविधानसभा निर्वाचनले मुलुकको राजनीतिक निकासका लागि बाटो खुलेको बताएका छन् ।
म्याग्दीको ज्यामरुककोट–८ हााडेभिरमा जिल्ला शिक्षा कार्यालयको नवनिर्मित भवनको आइतवार उद्घाटन गर्दै मन्त्री पौडेलले निर्वाचनपछि मुलुकमा राजनीतिक स्थायित्व र संविधान निर्माणको वातावरण बनेको बताएका हुन् । वर्तमान सरकारले संविधानसभाको निर्वाचन गर्ने महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेको बताउँदै मन्त्री पौडेलले भने– “अब मुलकुमा राजनीतिक निकासको मार्गप्रशस्त भएको छ । नेपाली जनताले अब नयाँ संविधान पाउने छन् ।”
शिक्षा मन्त्री समेत रहेका पौडेलले मुलुकबाट निरक्षरता उन्मूलनका लागि कक्षा आठ उत्तीर्ण नगरेकालाई सरकारी सेवामा सहभागी हुन नपाउने व्यवस्थासहितको नि:शुल्क तथा अनिवार्य शिक्षासम्बन्धी विधेयक मस्यौदा तयार भएको जानकारी दिए । उनले दुई किसिमको शैक्षिक जनशक्ति उत्पादन गर्ने नीतिलाई सुधार गरी शैक्षिक विभेद् अन्त्य गर्दै शैक्षिक क्षेत्रमा भएको लगानीलाई परिणाममुखी र सार्थक बनाउन आवश्यक रहेकामा जोड दिए । मन्त्री पौडेलले शैक्षिक क्षेत्रमा सूचना प्रविधिको पहुँच विस्तारसँगै सामुदायिक विद्यालयलाई ‘वाइफाई फ्री’ बनाउन लागिएको जानकारी दिए । उनले यस वर्ष देशभरका सात हजार ३६९ विद्यालयमा प्रविधिको सुविधा पुर्याउन आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिए ।
प्रतिक्रिया