काठमाडौं, १६ मंसिर । नेपालमा एचआइभी सङक्रमण हुनेको संख्यामा कमि आउन नसकेकोमा सरोकारवालाहरू चिन्तित भएका छन् । नयाँ एचआइभी सङ्क्रमण उल्लेख्य रूपमा घटाउन सक्ने ५६ देशमध्ये नेपाल एक भएको विश्व स्वास्थ्य सङ्गठनले प्रतिवेदन सार्वजनिक गर्यो तर नेपालमा दैनिक रूपमा यसबाट सङ्क्रमण हुने सङ्ख्यामा कमी आउन सकिरहेको छैन । अहिले नेपालमा दैनिक चारदेखि छ जनामा एचआइभी सङ्क्रमण हुने गरेको छ ।
बर्सेनि चार हजार ८ सय जनाको मृत्युको कारण एचआइभी/एड्स नै हुने गरेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्याङ्क छ । विश्वमा प्रत्येक घन्टामा २ सय ६२ जना सो रोगबाट सङ्क्रमित हुने गर्दछन् । उसो त विश्वमा प्रत्येक दिन चार हजार ४ सय जना एचआइभी/एड्सका कारण मर्ने गरेका छन् । २६ अँैं विश्व एड्स दिवसका सन्दर्भमा शनिवार आयोजित छलफलमा कति एचआइएभी सङ्क्रमित तथा एड्स भएका समाजमा किन लुकेर बसिरहेका छन्, के कति कारणले उनीहरू बाहिर आउन सकिरहेका छैनन् भन्ने विषय अझै पनि चुनौतीको रूपमा रहेको पाइयो । केन्द्रले सन् २०१२ मा गरेको पछिल्लो अध्ययनमा एचआइभी सङ्क्रमितको सङ्ख्या ४८ हजार ६०० रहेको छ । यसमा १५ देखि ४९ वर्षको जनसङ्ख्यामा एचआइभी सङ्क्रमण दर ०.२८ रहेको छ । अर्काेतर्फ रगत परीक्षणबाट २२ हजार ९९४ जनामा एचआइभी सङ्क्रमण भएको पाइएको केन्द्रले जनाएको छ । यो तथ्याङ्क असार मसान्तसम्मको रहेको बताइएको छ ।
केन्द्रका अनुसार एचआइभी सङ्क्रमित बालबालिकाको सङ्ख्या चार हजार रहेको छ । कार्यक्रममा नेपालमा एचआइभी/एड्स केन्द्रीकृत महामारीका रूपमा रहेको जानकारी दिइयो । एक वा एक बढी उच्च जोखिम रहेका समूहमा एचआइभी सङ्क्रमण पाँच प्रतिशतभन्दा बढी तर सामान्य जनसङ्ख्यामा एक प्रतिशतभन्दा कम भएको अवस्थालाई केन्द्रीकृत महामारी भन्ने गरिन्छ । एचआइभी सङ्क्रमणको उच्च जोखिममा रहेका समूहमा सुईद्वारा लागुपदार्थको प्रयोगकर्ता, यौनकर्मी, तिनका ग्राहक, पुरुष समलिङ्गी, रोजगारीका लागि भारत तथा तेस्रो मुलुक जाने तथा तिनका दम्पत्ती रहेका छन् । यस्ता समूहलाई लक्षित गरी केन्द्रले राष्ट्रिय एचआइभी एड्स रणनीति लागू गरिएको बताइएको छ ।
कार्यक्रममा केन्द्रले एचआइभी/एड्स भएकाका विभिन्न ४४ केन्द्रमा एआरटी (एन्टिरेट्रोभाइरल ट्रिटमेन्ट) सेवा उपलब्ध गराइराखेको र यस्ता केन्द्रमा आउनेको सङ्ख्या आठ हजार ५४६ रहेको, एचआइभी सङ्क्रमित गर्भवती आमाबाट बच्चामा हुने सङ्क्रमणको जोखिम कम गर्ने सेवा ६२ केन्द्रमा उपलब्ध गराइएको, यस्तो सेवा लिने आमाको सङ्ख्या १६२ भन्दा बढी भएको जानकारी दिएको थियो ।
‘एचआइभीको नयाँ सङ्क्रमण, भेदभाव र एड्सबाट हुने मृत्युलाई हुने शून्यमा पुर्याऔँ’ भन्ने नाराका साथ भोलि नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी विश्व एड्स दिवस मनाइँदै छ । एचआइभी र एड्ससम्बन्धी प्रभावकारी रोकथाम, उपचार, हेरचाह तथा सहयोगका लागि विश्वव्यापी समर्थन जुटाउँदै बृहत्तर जनचेतना जगाउने उद्देश्यले विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा डिसेम्बर १ लाई विश्व एड्स दिवस मनाइने गरिन्छ ।
प्रतिक्रिया