युएइ, १६ मंसिर । आयोजक संयुक्त अरव इमिरेट्स(युएइ) लाई ५ विकेटले पराजित गर्दै नेपाल टि ट्वान्टी विश्वकप छनोट चरणमा तेश्रो स्थान कब्जा गर्न सफल भएको छ । युएई मा शनिवार तेश्रो स्थानका लागी भएको खेलमा नेपाल यु ए ई सामु बलियो टिमका रुपमा देखा पर्यो ।
फाइनल प्रवेशका लागी भएको खेलमा अफगानिस्तानसँग पराजित भएपछि नेपाल यो खेल खेल्न बाध्य भएको थियो । पहिले ब्याटिङ गरेको यु ए ईले २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय ३१ रन बनाएको थियो । नेपालका बसन्त रेग्मीले ४ ओभरमा १६ रन दिएर यु ए ई को चार विकेट झारेका थिए । म्यान अफ द म्याचु वसन्तले आफ्नो ट्वान्टीट्वान्टी करिअरको उत्कृषट प्रदर्शन गर्दै चार ओभरमा १६ रन खर्चेर चार विकेट लिएका थिए ।
एक विकेट शक्ति गौचनले लिएका थिए । १ सय ३२ रनको लक्ष्य लिएर मैदानमा उत्रेको नेपाली टिमले १९ दशमलव २ ओभरमा ५ विकेट मात्र गुमाउदै लक्ष्य पुरा गर्यो । नेपालका लागि अन्तिम ओभरको पहिलो दुइ बलमा लगातार दुई छक्का प्रहार गर्दै शरद भेषवाकरले जित दिलाए। हङकङ विरुद्धको खेलमा पनि शरदले निर्णायक रन बनाएका थिए । उनी ४३ रनमा नटआउट रहे। सागर पुन र सुवास खकुरेलले पहिलो विकेटका लागि २९ रनको साझेदारी गरे ।
सागर १९ बलमा आउट भए । त्यसपछि आएका ज्ञानेन्द्र मल्ल र कप्तान पारस खड्का सस्तैमा आउट भएपछि सुवास र शरद मिलेर इनिङ सम्हालेका थिए । सुवासले तीन चौका मद्धतले ३८ रन बनाए । अनिल मण्डल १३ रनमा नटआउट रहे । शरदले तीन चौका र तीन छक्का प्रहार गरेका थिए । तर नेपालले आगामी बर्ष बङलादेशमा हुने विश्वकप टि ट्वान्टी क्रिकेटको प्रारम्भिक चरणमा आफनो स्थान सुरक्षित गरिसकेको छ । नेपालले बङलादेशमा मार्चमा हुने प्रारम्भिक चरणको खेलमा उत्कृष्ट प्रर्दशन गर्न सके दोस्रो चरणमा भारत, अष्ट्रेलिया, इङल्याण्ड र दक्षिण अफ्रिका जस्ता देश सँग क्रिकेट खेल्ने अवसर पाउनेछ । तर त्यसका लागी नेपालले आठ देशको दुइ समुहबाट उत्कृष्ट परिणाम निकाल्नु पर्ने हुन्छ ।
प्रतिक्रिया