आलु खेतीले किसानको कमाइ राम्रो

aalu-khandai-भक्तपुर, १४ मंसिर । परम्परागत खेती छाडेर आर्थीक स्तर उकास्नको लागी भक्तपुरका किसानले गरेको आलु खेती वाट यो वर्ष राम्रो आम्दानी गरेका छन् ।

परम्परागत रुपमा लगाइने धान , गहुँ , मकै भन्दा नगदे वालीको रुपमा लगाईने आलु खेती बाट किसानहरुलाई जीवन धान्न मात्र होईन अन्य आर्थीक विषयमा समेत सहज अवस्था आएको छ ।
जिल्लाको उत्तरपूर्वी गाविसहरु सुडाल, बागेश्वरी, ताथलीलगायतका किसानहरुले यो समयमा मात्र ६ करोड रुपैयाँ बराबरको बेमौसमी आलुको विक्री गरेका छन् ।
किसानहरुले मकै तथा भटमास लगाइएकै बारीमा बेमौसमी वर्षे आलु खेती गरेर मनग्गे आम्दानी गर्न थालेपछि भक्तपुर जिल्लाका किसानहरु बेमौसमी आलु खेतीतर्फ आकर्षित भएका छन् । प्रतिरोपनी जग्गामा १० हजार रुपैयाँ लगानी गरेर त्यसबाट चौबर आम्दानी गर्न सकिने किसानहरुको भनाइ रहेको छ ।
विगतका वर्ष भन्दा यसवर्ष आलुको बजार भाउ बढेपछि किसानलाई बढी मुनाफा भएको उनीहरु बताउछन् । यसवर्ष किसानले बारीबाटै रातो आलु धार्नीको १२० रुपैयाँमा र सेतो आलु रु. १०५ सम्ममा बिक्री गर्न पाएकाले पनि किसानलाई धेरै फाइदा भएको छ । जिल्ला विकास समिति स्थानीय विकास कोष अन्तर्गतको गाउँ विकास कार्यक्रममले गाविसमा उक्त बेमौसमी आलु खेतीको प्रवद्र्धन गरेको हो । केहीवर्ष अघिसम्म मकै तथा भटमास लगाएको बारीमा कोदो लगाउँदै आएका कृषकहरु गाउँ विकास कार्यक्रम लागू भएपछि बेमौसमी आलु खेतीतर्फ आकर्षित भएका हुन् ।
गाविसहरुमा कार्यक्रमले सम्भाव्यता अध्ययन गरी बेमौसमी आलु खेतीको लागि स्थानीय किसानहरुलाई तालिम तथा ऋण उपलब्ध गराए पछि यसतर्फ आकर्षित भएका किसान अहिले बेमौसमी आलु खेतीबाटै एकै सिजनमा लाखौ आम्दानी गर्ने भएको स्थानीय विकास कोषका कार्यकारी सचिव राजन शर्माले बताए ।
गाविसमा सक्रिय रहेका बिभिन्न सामुदायिक संस्थाका सदस्यहरुले दुई रोपनी देखि २० रोपनीसम्म जग्गामा आलुखेती गरेको र आलु खेतीले यहाँका किसानको जीवनस्तरमा परिर्वतन ल्याउन मद्दत गरेको कोषका स्थानीय सहजकर्ता गंगा सुवेदीले जानकारी दिईन ।
कम लगानीमा धेरै आम्दानी हुन थालेपछि अन्य पेशा छोडेर आलु खेती गर्नेहरुको संख्या पनि हरेक वर्ष बढ्दै गएको छ । गत वर्षको तुलनामा यस वर्ष ३५ प्रतिशत बढीले व्यवसायिक बेमौसमी आलु खेती गरेका छन् । मकै र भटमासपछि आलु र आलुसँगै हरियो तरकारी, रायोको साग, मूला लगाउन सकिने भएको हुँदा किसानहरु यतातिर आकर्षित भएका हुन् । कामको खोजीमा दैनीक १५ सय युवा जमात विदेशीने गर्नाले यस जिल्लामा पनि श्रमीकहरुको समस्याले गर्दा किसानहरुले चाहे अनुरुप तरकारी खेती गर्न नसकेको उनीहरुले गुनासो गरेका छन् ।

प्रतिक्रिया