नेपालको ऐतिहासिक फड्को

nepal-vs-hong-kongकाठमाडौं, १३ मंसिर । हङकङलाई ५ विकेटले हराउँदै नेपालले ट्वान्टी–२० विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ ।

संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबीस्थित शेख जायद अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको छनोट खेलमा नेपालले हङकङविरुद्ध रोमाञ्चक जित रच्दै विश्वकप यात्रा पक्का बनाएको हो । नेपालले ५ विकेटको क्षतिमा पूरा बल ओभर खेल्दै १४४ रनको लक्ष्य पूरा गर्‍यो । नेपालले समूह ‘ए’बाट दोस्रो हुँदै हङकङसँग खेल्ने अवसर पाएको थियो । यो जिसँगै नेपाल सोझै विश्वकपमा स्थान पाउने तेस्रो टोली बनेको छ ।
बुधबारको खेलमा कप्तान पारस खड्काले ४६ रन जोडे । उनी १९ औ ओभरमा रनआउट भएका थिए । अन्तिम ओभरमा १३ रन चाहिएको नेपालका लागि त्यसै ओभरको पहिलो बलमा नाबेल भएको थियो भने शरद भेसवाकरले छक्का प्रहार गरे । नेपालका लागि अन्तिम ३ बलमा २ रन आवश्यक थियो । तर, चौथो बलमा भेसवाकरले रन लिन सकेनन् भने पाँचौं बलमा १ रन लिँदै नेपालको रन हङकङको समान १ सय ४३ पुग्यो । हसेवको बलमा सरद भेसवाकरले १ रन लिएपछि नेपालले रोमाञ्चक जितसँगै विश्वकपमा स्थान सुरक्षित गर्‍यो ।
कप्तान पारस खड्का ३९ बलमा ४६ रन, उपकप्तान ज्ञानेन्द्र मल्लले २७ बलमा ३ चौकाको सहयोगमा ३० रन, सागर पुनले १९ बलमा ३ चौकाको मद्दतमा २२ रन र शरद भेस्वाकरले ७ बलमा १३ रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ७ विकेटको क्षतिमा १४३ रन जोडेको थियो । नेपालका लागि जितेन्द्र मुखियाले ३ विकेट, अविनाश कर्णले २ र पारस खड्काले १ विकेट हात पारेका थिए । हङकङका लागि वाकस वर्कात र निजाकतले समान २५ रन बनाए भने अन्य खेलाडीले खासै योगदान दिन सकेनन् ।
नेपालले आगामी मार्च महिनामा बंगलादेशको राजधानी ढाकामा हुने ट्वान्टी–२० विश्वकपमा सहभागिता जनाउनेछ । ट्वान्टी–२० विश्वकप छनोटमा सहभागी १६ टोलीलाई दुई समूहमा विभाजन गरिएको खेलमा दुवै समूहका विजेता टोली विश्व ट्वान्टी–२० लाई छनोट हुने प्रावधानअनुरुप समूह ‘ए’बाट आयरल्यान्ड र समूह ‘बी’ बाट अफगानिस्तान ट्वान्टी–२० विश्वकपमा छानिसकेका छन् ।
१७ वर्षे लामो अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा विश्वकप खेल्ने नेपालको चाहना यो खेलबाट पूरा भएको छ ।
नेपाल र हङकङबीच यसअघि ट्वान्टी २० र एकदिवसीयमा भएको पाँच भेटमा नेपालले ३ खेलमा जित र दुई खेलमा हार बेहोरेको थियो । नेपालले पहिलोपटक सन् २०१० मा एसियन कपको समूह चरणमा हङकङविरुद्ध खेलेको थियो । जुन खेलमा नेपाललाई हङकङले ३० रनले हराएको थियो । त्यसपछि २०११ मा काठमाडौमा भएको एसीसी ट्वान्टी २० कपको समूह चरणमा नेपालले हङकङलाई २ विकेटले पराजित गरेको थियो । त्यसपछि यूएईमा २०१२ मार्चमा ट्वान्टि २० विश्वकप छनोटका दौरान भएको खेलमा नेपालले २८ रनले हराएको थियो । पछिल्लो समय गत मार्चमा नेपालमा भएको एसिसि ट्वान्टि २० कपको समुह ‘ए’ मा रहेको नेपालले हङकङसँग ६ विकेटको पराजय भोगेको थियो । वान्डेअन्तर्गत एसिसि इलाईटकप २०१२ मा यूएईमा भएको खेलमा नेपालले १ सय २५ रनले पराजित गरेको थियो ।
नेपाली टोलीलाई बधाईको ओइरो
क्रिकेटमा ऐतिहासिक फड्को मारेपछि नेपाली टोलीलाई बधाईको ओइरो नै लागेको छ । सरकारी निकाय, राजनीतिक दलदेखि सामाजिक सञ्जालसम्म क्रिकेट टोलीलाई बधाई दिनेको होडजस्तै चलेको छ ।
राष्ट्रिय खेलकुद परिषद्ले बुधबार विज्ञप्ति निकाली नेपाली क्रिकेट टोलीलाई बधाई दिएको छ । बिश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि शुभकामनासमेत खेलकुद परिषदले दिएको छ ।
त्यस्तै अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले बंगलादेशमा हुने विश्वकप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि नेपाली टोली छनौट भएकोमा खुसी व्यक्त गर्दै यो जित ऐतिहासिक सफलता भएको बताएका छन् । यस सफलतासँगै नेपाल र नेपाली खेलकुदको प्रतिष्ठा विश्वसामु थप अभिवृद्धि हुनुका साथै समस्त नेपाली खेलप्रेमीको उत्साह र हौसला पनि वृद्धि भएको बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसले पनि नेपाली क्रिकेट टोलीको जितलाई ऐतिहासिक एवम् गौरवान्वित भन्दै खेलाडी, प्रशिक्षक, व्यवस्थापन समूह सबैमा बधाई ज्ञापन गरेको छ । पार्टी सभापति सुशील कोइरालाको निवास महाराजन्जमा बुधबार बसेको केन्द्रीय कार्यसमितिको अनौपचारिक बैठकले इतिहास रचिएको यो क्षणले सबै नेपालीलाई सधौ प्रेरित गर्ने विश्वास पार्टीले लिएको जनाएको छ । कांग्रेसले विश्वकपमा नेपालले उत्कृष्ट स्थान रच्दै नेपाललाई अझ गौरवान्वित बनाउन सफल हुन सकोस् भन्ने शुभकामनासमेत दिएको छ ।

प्रतिक्रिया