कैलालीमा समानुपातिकको मतगणना सकियो

धनगढी, १३ मंसिर । चार दिनदेखि जारी समानुपातिक निर्वाचन प्रणालीअन्तरगतको मतगणना कैलालीमा सम्पन्न भएको छ । शनिबार सुरु गरिएको मतगणना मंगलबार सकिएको कैलालीका मुख्य निर्वाचन अधिकृत यज्ञराज भट्टले बताए ।

६ वटा निर्वाचन क्षेत्रमा गरी ३ लाख ३३ हजार ६६१ मतदाता रहेको यो जिल्लामा समानुपातिक तर्फ २ लाख ६१ हजार १११ मत खसेका छन् । यसमध्ये ९ हजार ४३८ मत बदर भएको मुख्य निर्वाचन अधिकृत भट्टले जानकारी दिए ।
सिंगो नेपाललाईनै एक वटा निर्वाचन क्षेत्र मानेर अलग्गै मतदान गरिएको समानुपातिक निर्वाचन प्रणालीमा १ सय २२ वटा दल सहभागी भएका थिए । यहाँको निर्वाचन क्षेत्र नम्बर १ मा सोसल रिपब्लिकन पार्टीले, क्षेत्र नम्बर २ मा तराई पहाड हिमाल समाजवादी पार्टीले र क्षेत्र नम्बर ६ मा राष्ट्रिय मधेस एकता पार्टी नेपालले एक पनि मत नपाएको निर्वाचन अधिकृत भट्टले जानकारी दिए ।
प्राप्त मतगणनाको परिणामअनुसार कैलालीमा सबैभन्दा बढी नेपाली कांग्रेसले मत पाएको छ । त्यसपछि एमाले र एमाओवादीले पाएका छन् । कांग्रेसले ६४ हजार ३०१ मत, एमाले ४२ हजार ५१९ मत र एमाओवादीले ३८ हजार ३९५ मत प्राप्त गरेका छन् । उता, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) ले २८ हजार १९६ मत पाएर चौँथो भएको छ ।
कांग्रेसले क्षेत्र नम्बर १ मा ७ हजार ८३३ मत, एमालेले ६ हजार ३८० मत, ४ हजार ८८६ मत र फोरम लोकतान्त्रिकले ९ हजार ६७२ मत ल्याएको छ । कुल मतदाता ५३ हजार ६७७ को यो क्षेत्रमा ४० हजार ७८४ मत खसेका थिए । यसमध्ये १ हजार ६३१ मत बदर भएका छन् । यो निर्वाचन क्षेत्रमा प्रत्यक्ष तर्फ फोरम लोकतान्त्रिकका जनकराज चौधरी विजयी भएका थिए ।
क्षेत्र नम्बर २ मा कांग्रेसले ७ हजार ३५३ मत, एमालेले १० हजार ७१५ मत, एमाओवादीले ५ हजार २३२ मत र फोरम लोकतान्त्रिकले ३ हजार ५०८ मत पाएको छ । प्रत्यक्षतर्फ एमालेका मोहनसिंह राठौर विजयी भएका थिए । यो क्षेत्रमा ३७ हजार ८१३ मत खसेकोमा १ हजार ६९३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रत्यक्षतर्फ फोरम लोकतान्त्रिकका रामजनम चौधरीले विजयी हासिल गरेको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले बढी मत अर्थात् १० हजार ५३८ मत पाएको छ भने एमालेले २ हजार २४१ मत, एमाओवादीले ६ हजार ०९४ मत र फोरम लोकतान्त्रिकले ८ हजार ५१८ मत पाएको छ । ४५ हजार ६६४ मत खसेको यो क्षेत्रमा १ हजार १८५ मत बदर भएका छन् ।
क्षेत्र नम्बर ४ मा ४६ हजार ६६८ मत खसेकोमा १ हजार ६६९ मत बदर भएका छन् । यो क्षेत्रमा कांग्रेसले ९ हजार १५४ मत, एमालेले ६ हजार ८०१ मत, एमाओवादीले १० हजार १६० मत र फोरम लोकतान्त्रिकले २ हजार ६२४ मत पाएको छ । यो क्षेत्रमा प्रत्यक्षतर्फ एमाओवादी उम्मेदवार गौरीशंकर थारु विजयी भएका थिए ।
यसैगरी क्षेत्र नम्बर ५ मा कांग्रेसले १५ हजार ५५८ मत, एमालेले ८ हजार ९६३ मत, एमाओवादीले ७ हजार ४०७ मत पाएको छ भने फोरम लोकतान्त्रिकले १ सय ९१ मत पाएको क्षेत्र नंम्वर ५ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रत्यक्षतर्फ कांग्रेसका दीर्घराज भाटले विजयी हासिल गरेको यो क्षेत्रमा ३४ हजार ४२० मत खसेकोमा यसमध्ये १ हजार ३४४ मत बदर भएका छन् ।
त्यस्तै, धनगढी नगरपालिकासहित उर्मा र फूलवारी गाविसअन्तरगत पर्ने क्षेत्र नम्बर ६ मा कांग्रेसले १३ हजार ८६५ मत, एमालेले ७ हजार ४१९ मत, एमाओवादीले ४ हजार ६१६ मत तथा फोरम लोकतान्त्रिकले ३ हजार ६८३ मत पाएको छ । चुनाव चिह्न गाई भएको राप्रपा नेपालले यो क्षेत्रमा एमाओवादीभन्दा बढी अर्थात् ५ हजार ४४१ मत पाएको मुख्य निर्वाचन अधिकृत भट्टले बताए । ४४ हजार ६५२ मत खसेको यो क्षेत्रमा १ हजार ४४२ मत बदर भएका छन् । यो क्षेत्रबाट प्रत्यक्ष तर्फ काँग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विजयी भएका थिए ।

प्रतिक्रिया