प्रत्यक्षतर्फ लुम्बिनीबाट संविधानसभामा महिलाविहीन

बुटवल : लुम्विनी अञ्चलबाट एकजना पनि महिला उम्मेदवार विजयी हुन नसक्दा संविधानसभामा महिलाका मुद्दा कम उठ्ने भन्दै त्यहाका महिला चिन्तित बनेका छन् ।
लुम्बिनी अञ्चलका छ जिल्लामा प्रत्यक्षतर्फको निर्वाचनमा एक जना पनि महिला उम्मेदवार विजयी बन्न नसकेपछि यस क्षेत्रबाट महिला सभासद्विहीन बन्न पुगेको हो ।
प्रत्यक्षबाट संविधानसभा निर्वाचनमा कमै महिला सहभागी बनेपछि समानुपातिकबाट भए पनि महिला र दलितलाई सहभागी बनाउनुपर्ने दलित अधिकारकर्मी तीर्थप्रसाद गौतमको भनाइ छ ।
पाल्पा निर्वाचन क्षेत्र नं १ बाट नेपाली कांग्रेसकी सीता देवकोटा पाण्डेयले ११ हजार ९५८ मत ल्याएर नेकपा (एमाले)को नजिकको प्रतिस्पर्धी बनेकी थिइन्  ।
नेकपा (एमाले)का राधाकृष्ण कँडेलले १७ हजार ८०४ मत ल्याएर पाण्डेलाई पराजित गरेका हुन्  । पाल्पा जिल्लाका अन्य दुई निर्वाचन क्षेत्रमा महिला उम्मेदवारले एक सय मत पनि ल्याउन सकेनन् ।
पाल्पामा जस्तै अर्घाखाँची जिल्ला निर्वाचन क्षेत्र नं २ मा पनि नेपाली कांग्रेसकी पुष्पा भुसालले १४ हजार ३६ मत प्राप्त गरिन् ।
आधाभन्दा बढी मतदाता महिला रहे पनि संविधानसभा निर्वाचनमा यहाँबाट महिला उम्मेदवार विजय हुन नसकेपछि संविधानसभामा यस क्षेत्रका महिलाको आवाज कम सुनुवाइ हुने महिला अधिकारकर्मीको भनाइ रहेको छ ।
संविधानसभा निर्वाचनअघि नै महिलाका मुद्दा र महिला उम्मेदवार वनाउने विषयमा अधिकारकर्मीहरू नबोलेका कारण अहिले संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ जम्मा ११ जना महिला सभासद् बनेका उनीहरूको बुझाइ छ ।
प्रमुख दलका महिला उम्मेदवारहरू दोस्रो स्थानमा सीमित बन्न बाध्य वनेका छन् भने साना दलका महिलाले ५ सयभन्दा कम मत प्राप्त गरेका छन् ।
प्रत्यक्षतर्फबाट कम सहभागी बन्ने स्थिति सिर्जना भए पनि समानुपातिकतर्फ महिला सहभागिता ३३ प्रतिशतभन्दा बढी हुुनुपर्ने महिला अधिकारकर्मीको भनाइ रहेको छ ।
पुरुषको तुलनामा महिला मतदाताको संख्या बढीे भएको निर्वाचन आयोगको कार्यालयले देखाए पनि महिलाहरू संविधानसभा निर्वाचनमा कमै सहभागी हुने सम्भावना प्रत्यक्षतर्फको निर्वाचनले देखाइसकेको छ । (सौस)

प्रतिक्रिया