काठमाडौं : नेपाली कांग्रेसका सभापति सुशील कोइराला र नेपालका लागि ब्रिटिस राजदूत एन्डी स्पार्कबीच बुधवार बिहान उनको निवास महाराजगन्जमा भेटवार्ता भयो ।
भेटका क्रममा निर्वाचनको सफलता, संविधान लेखन र सहमतिका लागि दलहरूबीच भइरहेको प्रयासका बारेमा छलफल भएको बताइएको छ । सो अवसरमा राजदूत स्पार्कले सभापति कोइरालालाई निर्वाचन सफलतापूवर्क सम्पन्न भएकामा बधाई दिँदै दलहरूबीच सहमति जुटेर संविधान लेखनको काम छिटो सकिनेमा विश्वास व्यक्त गरेका थिए । ‘उत्साहपूर्ण जनसहभागिता र शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न भएकामा बधाई दिए, अब दलरुबीच सहमति जुटाएर छिटो संविधान लेखनमा पनि सफलता मिल्ने कुरा राखे,’ भेटपछि राजदूत स्पार्कले भने ।
सो अवसरमा सभापति कोइरालाले निर्वाचनमा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै अहिलेको राजनीतिक परिस्थितिका बारेमा जानकारी लिएको केन्द्रीय सदस्य डा. रामशरण महतले जानकारी दिए । ‘निर्वाचन शान्तिपूर्ण र निष्पक्षपूर्ण ढंगबाट सम्पन्न भएकामा राजदूतले बधाई दिनुभयो, निर्वाचनप्रति असन्तुष्ट दलहरूले लगाउनुभएको आरोपमा सत्यता नभएको राजदूतको भनाइ थियो,’ डा. महतले भेटको विषयमा जानकारी दिने क्रममा प्रतिक्रिया दिए । (सौस)
प्रतिक्रिया