काठमाडौं, १२ मंसिर । एमाले अध्यक्ष झलनाथ खनालले नयाँ सरकार गठनका लागि कांग्रेस र एमालेले सहमति खोज्ने बताएका छन् ।
राजधानीमा आज (बुधबार) नेपालका लागि बेलायती राजदूत एण्डी स्पार्क र अमेरिकी राजदूत पिटर डब्लु बोडेसँगको अलग अलग भेटवार्ता पछि पत्रकारसँग कुरागर्दै खनालले कांग्रेस र एमालेले नै सहमतिको सरकार बनाउन पहल गर्ने बताए ।
‘एमाले र कांग्रेसलाई नेपाली जनताले जिम्मेवारी दिएका छन्,’ उनले भने, ‘जिम्मेवारी पुरा गर्न हरेक विषयमा सहमतिका साथ अगाडि बढ्ने छौं ।’
अध्यक्ष खनालले सहमतिको बाटोबाट अगाडि बढ्दा निकास नआए अर्को विकल्प खोज्न पनि सकिँने संकेत गरे । ‘सहमतिको मार्गमा अवरोध आएमात्रै अन्य कुनै वैकल्पिक बाटोमा हिँड्छौं,’ उनले भने ।
राजदूत स्पार्कले दलहरुबीच सहमति जुटाएर छिटो नयाँ संविधान लेखनमा पनि सफलता मिल्ने बताए ।
प्रतिक्रिया