माओवादीले खोज्न थाल्यो भाग

CP-Gajurel-Souryadailyकाठमाडौं, १२ मंसिर । दोस्रो संविधानसभा चुनाव बहिष्कार गरेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी संविधानसभा र नयाँ सरकार दुवैमा जान तयार देखिएको छ । चुनावमा भाग लिएको एमाओवादीले संविधानसभामा जान भने सर्त अघि सारिरहेको बेला उही पार्टीबाट फुटेर बनेको नेकपा–माओवादीले पनि ससर्त संविधानसभामा सहभागिता जनाउने संकेत गरेको छ ।

आफ्नो पार्टीको उचित प्रतिनिधित्व सुनिश्चित गरिए संविधानसभामा भाग लिने र सरकारमा पनि सहभागिता जनाउने निष्कर्षमा माओवादी पुगेको हो । माओवादी उपाध्यक्ष सीपी गजुरेलले अन्तरिम संविधान संशोधन गरी आफूहरूलाई उचित प्रतिनिधित्व सुनिश्चित गरिए संविधानसभा र सरकार दुवैमा सहभागी हुने बताएका छन् ।
माओवादीले पोखरा बैठकबाट भएको संविधानसभा चुनावको सशक्त प्रतिरोध गर्ने निर्णयबमोजिम चुनाव बहिष्कार गरेको थियो । चुनावलाई अवरुद्ध गर्न माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले एक दिन आमहडताल आह्वान गरेको थियो भने ८ दिन देशभर यातायात हडताल गरेको थियो । माओवादी नेतृत्वको मोर्चाले अवरोध गरे पनि अन्तरिम चुनावी मन्त्रिपरिषदले सेना परिचालन गरी चुनाव सम्पन्न गराएको छ ।
चुनाव सम्पन्न भएपछि भने बहिष्कारमा उत्रिएको पार्टी माओवादी पुन: युटर्न हुन पुगेको छ । ‘संविधानसभा र सरकार दुवैमा सहभागी हुन तयार छौँ,’ उपाध्यक्ष गजुरेलले भने, ‘त्यसका लागि उचित प्रतिनिधित्वको सुनिश्चितता हुनुपर्छ ।’
गजुरेलले राजनीतिक दलहरूबीच नेकपा–माओवादीलाई कसरी पहिचान दिने र कुन स्थान दिने भन्ने विषयमा छलफल भइरहेको खुलासासमेत गरे । मन्त्रिपरिषद्बाट मनोनित गरिने २६ सिट आफ्नो पार्टीलाई दिएको खण्डमा उ संविधानसभामा सहभागी नहुने भएको छ । संविधान संशोधन गरी सिट संख्या बढाएको खण्डमा संविधानसभामा जाने माओवादीको जनाउ छ ।
यथावस्थामा संविधानसभामा जान नसकिने उल्लेख गर्दै गजुरेलले शान्ति प्रक्रियाका बेला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका पालामा माओवादीलाई दिइएजस्तै सिट संख्यामा सहमति भए सहभागिता जनाउन सकिने संकेत गरे । चुनावमा भाग लिने र नलिने दुई ध्रुवमा मुलुक विभाजित रहेकाले सोहीअनुसारको हैसियत आफूहरूलाई दिनुपर्ने उनको भनाइ छ ।
उनले एमाओवादीसग पार्टी एकीकरण हुन नसक्ने ठोकुवासमेत गरेका छन् । एमाओवादीसँग पार्टी एकता नभएर कार्यगत एकता हुन नसक्ने उनी बताउछन् । ‘एमाओवादी १ सय ८० डिग्रीबाट यु–टर्न गरेको छ,’ उनले भने, ‘मोहन वैद्यलाई अध्यक्ष स्वीकार गरे पनि पार्टी एकता हुँदैन ।’
संविधानसभा चुनावको नतिजालाई लिएर गरेको टिकाटिप्पणी र निर्णयका सम्बन्धमा उनले आश्चर्य प्रकटसमेत गरेका छन् । ‘पहिला धाँधली भएकाले संविधानसभामा जान्नौँ भन्ने,’ उनले भने, ‘फेरि विजय जुलुस निकाल्ने निर्णय गर्ने एमाओवादीको चाल ठीक छैन ।’
उनले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा पनि माओवादीको पछिल्लो यही धारणाका विषयमा बोलेका थिए ।

प्रतिक्रिया