सार्क शल्यचिकित्सक सम्मेलन नेपालमा

काठमाडौं, १२ मङ्सिर । सार्क क्षेत्रका शल्य चिकित्सकको सम्मेलन पहिलोपटक नेपालमा हुने भएको छ । काठमाडौंमा मङ्सिर १३ देखि १५ गतेसम्म पहिलो सार्क सर्जिकल केयर सोसाइटी तथा सोसाइटी अफ नेपालको नवौं राष्ट्रिय सम्मेलन हुन लागेको हो ।

सम्मेलनको मुख्य उद्देश्य सार्क क्षेत्रमा शल्य चिकित्सको विकासको लागि क्षेत्रीय सहयोगको आदानप्रदान रहेको छ । राजधानीमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा नेपाल शल्य चिकित्सक समाजका महासचिव प्राडा रामेश्वर पाखेरेलले शल्य चिकित्सासम्बन्धी शिक्षा, आचारसंहिता र यस क्षेत्रमा भएका नवीनतम ज्ञान र प्रविधिबारेमा जानकारी गराउने बताए ।
सम्मेलनमा नेपालसहित सार्क मुलुकका ख्याती प्राप्त वरिष्ठ शल्य चिकित्सकसहित ३०० जनाले भाग लिनेछन् । सम्मेलनमा २० अतिथिले विशेष वक्ताका रूपमा रहने र ७० भन्दाबढी शोधपत्र प्रस्तुत हुनेछ । सम्मेलनमा शल्य चिकित्सको विभिन्न विधा जनरल, न्युरो, कार्डियक, प्लास्टिक सर्जिक, ग्यास्ट्रोइन्टरलोजी, मिनिमल इन्भेसिभ, युरोलजी, पिडियाट्रिकसहित शल्य शिक्षा, आचारसंहिता र अन्य विषयमा प्रस्तुत हुने सोधपत्रहरूमा छलफल हुनेछन् ।
“सम्मेलनमा एक अर्काले आ–आफ्ना अनुभनको आदानप्रदान गर्नेछन् भने नयाँ प्रविधिको पनि जानकारी हुनेछ,” महासचिव डा पोखरेलले भने । साथै देशको दुर्गम क्षेत्रमा शल्यचिकित्सा सेवा कसरी पुर्‍याउने भन्नेमा छलफल केन्दित हुने आयोजकले जनाएका छन् । सम्मेलनमा नेपालका अग्रज शल्यचिकित्सक डा अञ्जनीकुमार शर्मा र डा दिनेशनाथ गङ्गोललाई सम्मान गरिने छन् । नेपालमा शल्यचिकित्सकको सङ्ख्या २५० हाराहारी रहेको छ । तीमध्ये सातजना मात्रै महिला छन् ।
एक शल्य चिकित्सकले झन्डै एक लाख नेपालीको सेवा गर्नुपर्ने अवस्था रहेको छ । नेपालमा रहेको शल्य चिकित्सकमध्ये अधिकांश राजधानीमै केन्द्रित रहेका छन् । यो क्षेत्रको विकासको लागि जनशक्ति बढाएर स्वास्थ्यसम्बन्धी उपकरण खरिदमा कर छुट तथा अनुदान, तालिम र साधनस्रोतको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

प्रतिक्रिया